काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा आज एक खेल मात्र सञ्चालन हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतिस्पर्धामा लुम्बिनी लायन्स र विराटनगर किंग्स आमनेसामने हुँदैछन् । खेल दिउँसो ४ः३० बजे सुरु हुनेछ ।
प्रतियोगिताको दोस्रो स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्ने योजनामा छ । प्लेअफमा आफ्नो स्थान पक्का गरिसकेको लुम्बिनीका लागि यो खेल शीर्ष स्थानको होडमा अघि बढ्ने अवसरसमेत हुनेछ ।
हालसम्म ६ खेल खेलेको लुम्बिनीले चार खेलमा जित निकालेको छ भने एक खेलमा पराजय बेहोरेको छ । चितवन राइनोजसँगको खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए ।
लुम्बिनीले कर्णाली याक्स, जनकपुर बोल्ट्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सलाई हराउँदै चार जित दर्ता गरेको हो । उसको एकमात्र हार भने काठमाडौं गोर्खाजसँग रहेको छ ।
यता पाँचौँ स्थानमा रहेको विराटनगरका लागि पनि आजको भिडन्त उत्तिकै निर्णायक बन्न सक्छ । प्लेअफ यात्रालाई थप बलियो बनाउन विराटनगर जितको खोजीमा मैदान उत्रनेछ ।
६ खेलबाट तीन जित र तीन हारको नतिजा निकालेको विराटनगरले पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सलाई पराजित गरेको छ । तर काठमाडौं गोर्खाज, चितवन राइनोज र कर्णाली याक्ससँग भने उसले हार बेहोरेको छ ।
लुम्बिनी शीर्ष स्थानमा पुग्ने लक्ष्यसहित खेल्दा विराटनगर प्लेअफ सम्भावना बलियो बनाउने दबाबमा हुनेछ । त्यसैले आजको प्रतिस्पर्धा दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ ।









प्रतिक्रिया दिनुहोस्