काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि मधेस प्रदेशले आजदेखि प्रदेशस्तरीय छनोट प्रक्रिया शुरु गरेको छ ।
प्रतियोगितामा सहभागी हुने ३२ खेल विधिमध्ये मधेस प्रदेशले २९ विधामा सहभागिता जनाउने भएको छ । मधेस प्रदेशका खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापक गरी ७०९ जनाको टोली प्रतियोगितामा सहभागी हुने मधेस प्रदेशका खेलकुद परिषद् सदस्यसचिव शिवजीप्रसाद कानूले जानकारी दिनुभयो । प्रतियोगिताको औपचारिक सुरुवात केही विधामा मंसिर ८ गतेदेखि हुने र मुख्य प्रतियोगिता मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने तयारी छ ।
पत्रकार सम्मेलनमा प्रदेशका खेलकुद पदाधिकारीले बजेट अभाव र प्रदेश सरकारको अस्थिरताका कारण तयारीमा चुनौती थपिएको बताउनुभयो । बजेटको ५० प्रतिशत रोक्का तथा कटौती गरिएको अवस्थामा सीमित स्रोतसाधनबाट धेरै काम गर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । कठिनाइका बाबजुद खेलाडीको उत्साह र विभिन्न खेल सङ्घसँगको समन्वयमा छनोट प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
मधेस प्रदेशमा कबड्डी, भलिबल, कराँते, तेक्वान्दो र क्रिकेटलगायतका खेलमा पदक जित्ने राम्रो सम्भावना रहेको उहाँको दाबी छ । विशेषगरी प्रदेशको मौलिक खेलका रूपमा रहेको कुस्तीमा मधेसले राष्ट्रियस्तरमै उल्लेखनीय सफलता हासिल गर्न सक्ने बताउनुभयो ।
उहाँले खेलकुदमा प्रदेश सरकारले पर्याप्त लगानी गर्न सके मधेसले राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउन सक्ने बताउनुभयो । खेलकुदले विभिन्न राजनीतिक तथा वैचारिक पृष्ठभूमिका व्यक्तिलाई एउटै मञ्चमा जोड्ने र प्रदेशको पहिचान स्थापित गर्ने अवसरसमेत दिने बताउनुभयो ।
‘खेल मधेस, जित मधेस’ भन्ने नारासहित अघि बढेको प्रदेशले आर्थिक वर्ष २०८२/८३ मा अन्य प्रदेशको तुलनामा धेरै खेलकुद प्रतियोगिता तथा कार्यक्रम आयोजना गरेको दाबीसमेत गर्नुभयो ।
प्रतियोगिताका लागि खेलाडी छनोट र सहभागितामा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भन्दै सम्भावना बोकेका खेलाडीलाई पालिकास्तरबाटै छनोट प्रक्रियामा सहभागी गराउन आग्रह गरिएको छ ।
खेलाडीको मनोबल उच्च राख्न र प्रदेशको प्रतिष्ठासँग जोडिएको प्रतियोगितामा सफल नतिजा हासिल गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्नुपर्नेमा पनि जोड दनिुभयो ।









प्रतिक्रिया दिनुहोस्