Logo २३ कार्तिक २०८३, सोमबार | Mon, Nov 9, 2026


रुकुम पश्चिममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते


0
Shares

रुकुम । पश्चिमको आठबिसकोट नगरपालिका–५ नयाँडाँडामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कात्तिक २३ गते दिउँसो १२ बजे थापागाउँबाट नयाँडाँडातर्फ आउँदै गरेको भे.१ च ३११२ नम्बरको डबल क्याप जीप ब्याक गर्ने क्रममा नियन्त्रण गुमाएर सडकबाट करिब ५० मिटर तल खसेको थियो।

दुर्घटनामा स्थानीय १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा १३ जना घाइते भएका छन्। गम्भीर घाइते हुनेमा १९ वर्षीया जुना कुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा, ८ वर्षीय युवराज थापा र ४ वर्षीया विरता थापा रहेका छन्।

त्यस्तै, २५ वर्षीया हिरा थापा र २ वर्षीय गौरव थापा मध्यम घाइते भएका छन्। अन्य पाँच जना सुशिला थापा एरी, भावना थापा एरी, खिममाया थापा, रमिता एरी र निर्मला एरी सामान्य घाइते भएका छन्।

घाइतेमध्ये सामान्य र मध्यम अवस्थाका ६ जनालाई दिउँसो १ः२० बजे नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ। अन्य घाइतेलाई पनि उपचारका लागि पठाउने प्रयास भइरहेको छ।

दुर्घटनापछि प्रहरी चौकी गोतामकोट र इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। जीप चालक आठबिसकोट नगरपालिका–४ निवासी २५ वर्षीय प्रदीप विक दुर्घटनापछि फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेको जीप घटनास्थलमै रहेको छ।

Skip This