काठमाडौं । कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू आगामी मंसिर ८ गतेदेखि सुरु हुने भएका छन्। प्रतियोगिताको प्राविधिक समितिबाट स्वीकृत खेल तालिकाअनुसार पहिलो दिन ६ खेलमा प्रतिस्पर्धा हुनेछ।
मंसिर ८ देखि पुरुष तथा महिला क्रिकेट, पुरुष फुटबल, पुरुष तथा महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडीका खेल सञ्चालन हुनेछन्।
प्रतियोगिताका ३२ खेलमध्ये २३ वटा सुर्खेतमा आयोजना गरिनेछ। सुर्खेतमा एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारोत्तोलन, रग्बी, साइक्लिङ, ई–स्पोर्ट्स र सेपाकताक्रोका खेल हुनेछन्।
यस्तै, टेनिस र खोखो बर्दियामा, जुडो तथा कुस्ती सल्यानमा र शारीरिक सुगठन पश्चिम रुकुममा सञ्चालन हुनेछन्। आईटीएफ तेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा आयोजना गर्ने तय भएको छ।
कर्णालीका हुम्ला, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा भने प्रतियोगिताका कुनै पनि खेल राखिएको छैन।
प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ। मंसिर २७ गते समापन गर्ने तालिका तय गरिएको छ।









प्रतिक्रिया दिनुहोस्