Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


फरक विचार भएपनि देशप्रेम र नेपालको पहिचान साझा उद्देश्यः सविना काफ्ले


0
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भएपनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान विश्वसामु चिनाउनु रहेको बताउनुभएको छ ।

आईतवार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले फरक विचार र सिद्धान्तमा विश्वास गर्ने नेपालीलाई देशप्रतिको माया र साझा उद्देश्यले एकतावद्ध बनाउने बताउनुभयो । उहाँले नेपाल अद्वितीय र विशिष्ट देश भएको उल्लेख गर्दै यसको पहिचान विश्वभर फैलाउनु सबै नेपालीको साझा जिम्मेवारी भएको बताउनुभयो ।

कुकुर तिहारको महत्वबारे चर्चा गर्दै काफ्लेले कुकुरको निष्ठा, प्रेम, वफादारिता र करुणालाई सम्मान गर्न यो पर्व मनाइने बताउनुभयो । कुकुरको धार्मिक तथा सांस्कृतिक सम्बन्ध हिन्दु धर्ममा मात्र सिमित नरहेको र विभिन्न समुदायका मौलिक परम्परा तथा पौराणिक कथामा समेत यसको विशेष स्थान रहेको उहाँले उल्लेख गर्नुभयो ।

आफू कुकुर तिहार आयोजना गर्न प्रेरित हुनुको कारण सुनाउँदै उहाँले बाल्यकाल मोरङको उर्लाबारीमा बिताएको स्मरण गर्नुभयो । जीवनका शुरुवाती १०–११ वर्ष उर्लाबारीमा बिताउँदा त्यहाँका हरेकजसो घरमा कुकुर पाल्ने चलन रहेको र कुकुर तिहारका अवसरमा सामूहिक पूजा तथा जमघट हुने गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी, श्राद्धका बेला आफ्ना हजुरबुबा र हजुरआमाले पितृहरू कुकुरको भेषमा आउने गरेको रोचक कथा सुनाउने गरेको स्मरण गर्दै उहाँले यस्ता सांस्कृतिक कथाले बाल्यकालदेखि नै कुकुरप्रति आफ्नो लगाव बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा व्यक्तिगत तथा राजनीतिक विचार फरक हुन सक्छन्, तर हामी सबैको साझा पहिचान नेपाली हुनु र नेपालको विशिष्टता विश्वसामु चिनाउनु हो। यही साझा उद्देश्यले हामी आज यहाँ भेला भएका छौँ । कुकुर तिहारका दिन हामी कुकुरको निष्ठा, प्रेम, करुणा र वफादारीको सम्मान गर्दै पूजा गर्छौं । यसको सम्बन्ध हिन्दु धर्ममा मात्र सिमित छैन, विभिन्न आदिवासी तथा जनजातिका संस्कृति र पौराणिक कथामा पनि कुकुरको विशेष स्थान रहेको छ । म आफैँ मोरङको उर्लाबारीमा जन्मिएर बाल्यकाल बिताएको हुँ । त्यहाँका घरघरमा कुकुर पाल्ने, सामूहिक रूपमा पूजा गर्ने र कुकुरसँग जोडिएका सांस्कृतिक परम्पराहरूले मेरो बाल्यकालमा गहिरो प्रभाव पारे । श्राद्धका बेला पितृहरू कुकुरको भेषमा आउनुहुन्छ भन्ने हजुरबुबा–हजुरआमाले सुनाउनुभएका कथाहरूले पनि कुकुरप्रतिको मेरो आत्मीयता र लगाव बढाएको हो । यही बाल्यकालको सम्झना र कुकुरप्रतिको प्रेमले मलाई कुकुर तिहार आयोजना गर्न प्रेरित गरेको हो ।’

कुकुरप्रतिको प्रेम, सम्मान र मानवीय संवेदनालाई सांस्कृतिक पर्वसँग जोडेर अघि बढाउनुपर्ने सन्देशसमेत उहाँले दिनुभयो ।

Skip This