काठमाडौं । तिहार पर्वलाई लक्षित गर्दै सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट करिव तीन सय किलोग्राम सयपत्री फूलसहित विभिन्न मौसमी कृषि उपजहरू संघीय राजधानी काठमाडौं भित्र्याइएको छ ।
गाउँपालिकाले स्थानीय उत्पादनको बजारीकरण गर्न सञ्चालनमा ल्याएको ‘कृषि एम्बुलेन्स’ सेवामार्फत किसानले उत्पादन गरेका फूल तथा फलफूल सहज रूपमा राजधानीको बजारसम्म पुगेका हुन् । काठमाडौं उपत्यकासँग भौगोलिक रूपमा नजिक रहे पनि उपयुक्त ढुवानी तथा बजारीकरणको अभावमा हेलम्बुका उत्पादनहरूले विगतमा सहज पहुँच पाउन सकेका थिएनन् ।
सोही समस्यालाई समाधान गर्न हेलम्बु गाउँपालिकाले हेलम्बुदेखि काठमाडौंसम्म नियमित ढुवानीका लागि ‘कृषि एम्बुलेन्स’ को प्रवन्ध मिलाएपछि स्थानीय कृषि उपजले औपचारिक रूपमै राजधानीको बजार पाउन थालेका हुन् । गाउँपालिकाका सिनियर कृषि प्राविधिक उद्धव कार्कीकाअनुसार कृषि एम्बुलेन्सको व्यवस्थापछि पहिलो पटक ठूलो परिमाणमा हेलम्बुको सयपत्री, म्यारीगोल्ड तथा मखमली फूल काठमाडौं ल्याइएको हो ।
फूलका अतिरिक्त स्थानीय स्तरमा उत्पादित एभोकाडो, भोगटे, विमिरो, हलुवावेद र जुनार जस्ता मौसमी फलफूलहरू समेत विक्रीका लागि राजधानी ल्याइएको कार्कीले जानकारी दिनुभयो । विगतमा ढुवानीको असुविधा र विचौलियाको भर पर्नुपर्ने बाध्यताका कारण दुर्गम भेगका किसानहरू आफ्नो उत्पादन बारीमै कुहाउन वा न्युन मूल्यमा बेच्न विवश थिए ।
गाउँपालिकाको यस पहलले ढुवानी लागत घटाउनुका साथै किसानलाई उत्पादनको उचित मूल्य दिलाउन सहयोग पुग्ने विश्वास गरिएको छ । विशेषगरी तिहारको पूर्वसन्ध्यामा राजधानीमा पुष्प तथा फलफूलको उच्च माग हुने भएकाले यसले स्थानीय कृषकलाई प्रत्यक्ष आर्थिक लाभ दिनेछ ।
हेलम्बु गाउँपालिकाले पछिल्ला वर्षहरूमा क्षेत्रलाई केवल पर्यटकीय गन्तव्यका रूपमा मात्र सीमित नराखी जलवायु परिवर्तन अनुकूलन, विपद् जोखिम न्युनिकरण, स्थानीय जीविकोपार्जन र समुदायको उत्थानशीलतासँग जोडेर एकीकृत कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
स्थानीय सरकारको यस्तो रणनीतिक कदमपछि हेलम्बुका बासिन्दाहरू परम्परागत खेती प्रणाली त्यागेर व्यावसायिक पुष्प तथा फलफूल खेतीतर्फ आकर्षित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्