Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


दैलेखमा हँसिया प्रहार गरी चार महिलामाथि आक्रमण, एकको अवस्था गम्भीर


0
Shares

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा घरेलु हतियार हँसियाबाट भएको आक्रमणमा चार महिला घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्की एक महिलाका दुवै हत्केलामा गम्भीर चोट लागेको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे स्थानीय ३६र३७ वर्षीय बमबहादुर रावत चन्द्रबहादुर पुन मगरको घरमा पुगेका थिए। उनले घरभित्र रहेका सदस्यलाई लक्षित गरी हँसियाले प्रहार गर्नुका साथै कुटपिट गरेको प्रारम्भिक विवरण छ।

आक्रमणबाट चन्द्रबहादुरकी ४५ वर्षीया श्रीमती बिमा मगर गम्भीर घाइते भएकी छन्। उनको टाउको र अनुहारमा चोट लागेको छ। त्यस्तै, चन्द्रबहादुरकी भाइबुहारी २५ वर्षीया महेसरा पुनका दुवै हातका हत्केला काटिएका छन्।

घटनामा २० वर्षीया लक्ष्मी पुन र २३ वर्षीया तिला पुन मगर पनि घाइते भएका छन्। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि ठाटीकाँध प्रहरी चौकीबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो। आक्रमणमा संलग्न आरोपित रावतलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चारै जना घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको छ। आक्रमण गर्नुको कारणबारे भने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

Skip This