Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


पशु कल्याणका लागि छुट्टै विधेयक ल्याउने तयारीमा सरकार


0
Shares

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले पशु कल्याणसम्बन्धी कानूनी व्यवस्था थप बलियो बनाउन छुट्टै पशु कल्याण विधेयकको मस्यौदा तयार गरी सरोकारवालासँग सुझाव संकलन गरिरहेको बताउनुभएको छ ।

आईतवार कुकुर तिहारको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले पशुपंक्षीको संरक्षण र उनीहरूमाथि हुने क्रूरता नियन्त्रणका लागि सरकारले नीतिगत तथा कानुनी व्यवस्था अघि बढाइरहेको जानकारी दिनुभएको हो । उहाँकाअनुसार २०७८ सालमा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति पाएपछि पशु कल्याण विधेयकको मस्यौदा तयार गरी अघि बढाइएको छ ।

लामो समयदेखि पशु अधिकार र कल्याणका क्षेत्रमा छुट्टै कानूनको माग हुँदै आएको भन्दै उहाँले त्यसलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको बताउनुभयो । मन्त्री चौधरीले नेपालको संविधानले समेत पशु कल्याणसम्बन्धी व्यवस्था गरेको र मुलुकी अपराध संहिता, २०७४ मार्फत पशुपंक्षीको संरक्षण, लापरवाहीपूर्वक पालन, बेवारिसे रूपमा छोड्ने कार्य तथा निर्दयी व्यवहार नियन्त्रण गर्ने प्रावधान रहेको उल्लेख गर्नुभयो ।

सोही कानूनअनुसार पशुमाथि हुने क्रुरतामा दण्ड तथा सजायको व्यवस्था गरिएको उहाँको भनाइ छ । त्यस्तै, पशु कल्याण निर्देशिका, २०७३ ले पशु कल्याणका लागि स्पष्ट मार्गनिर्देशन गरेको उहाँले बताउनुभयो । निर्देशिकाले पशु ढुवानीका क्रममा हुने क्रूरता निषेध गर्नुका साथै कामदार पशुलाई दैनिक बढीमा आठ घण्टा मात्रै काममा लगाउन पाउने र सातामा कम्तीमा एक दिन विश्राम दिनुपर्ने व्यवस्था गरेको छ ।

सरकारले स्थापना गरेको राष्ट्रिय पशु कल्याण तथा स्रोत व्यवस्थापन कार्यालयमार्फत पशु कल्याणसम्बन्धी गतिविधि व्यवस्थित गर्नुका साथै आवश्यक प्राविधिक मार्गनिर्देशनसमेत प्रकाशन हुँदै आएको मन्त्री चौधरीले जानकारी दिनुभयो । उहाँले पशु कल्याणका लागि कानुनी संरचना निर्माणसँगै विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै पशुपंक्षीमाथि हुने दुव्र्यवहार र क्रूरता अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘व.िसं. १९८४ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शमशेरले पशुपतिनाथ गौशाला स्थापना गरेका थिए । नेपालको संविधान, मुलुकी अपराध संहिता २०७४ र पशु कल्याण निर्देशिका २०७३ ले पशु संरक्षण तथा क्रूरताविरुद्ध कानूनी व्यवस्था गरेका छन् । निर्देशिकाले ढुवानीमा क्रूरता निषेध गर्नुका साथै कामदार पशुलाई दैनिक अधिकतम आठ घण्टा काम र साप्ताहिक एक दिन विश्रामको व्यवस्था गरेको छ । साथै, २०७८ मा मन्त्रिपरिषद्बाट सैद्धान्तिक स्वीकृति पाएपछि पशु कल्याण विधेयकको मस्यौदा अघि बढाइएको छ । यसको उद्देश्य पशु अधिकार संरक्षण र पशुमाथि हुने दुव्र्यवहार नियन्त्रणका लागि कानूनी व्यवस्था थप सुदृढ गर्नु हो ।’

उहाँले व.िसं. १९८४ मा तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले पशुपतिनाथ गौशाला स्थापना गरेको ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै नेपालमा पशु संरक्षणको अभ्यास पुरानो समयदेखि नै हुँदै आएको बताउनुभयो ।

Skip This