Logo २० कार्तिक २०८३, शुक्रबार | Fri, Nov 6, 2026


युरोपका २१ भन्दा बढी विमानमा बमको धम्की


0
Shares

काठमाडौं ।

युरोपका विभिन्न देशमा कम्तीमा २१ वटा विमान र केही विमानस्थललाई बम विस्फोट गराउने धम्की दिइएको छ ।

यसका कारण युरोपका आठ देशका हवाई सेवा प्रभावित भएका छन् । अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, चेक गणतन्त्र, फ्रान्स, इटाली, पोल्यान्ड र रोमानियाका उडानमा सुरक्षा सतर्कता अपनाइएको हो ।

आयरल्यान्डको डब्लिनबाट इटालीको रोम जाँदै गरेको एयर लिङ्गसको विमानलाई बमको धम्कीपछि फ्रान्सको नर्मन्डीस्थित सैन्य हवाई अड्डामा आपत्कालीन अवतरण गराइएको थियो । त्यस्तै, फिनल्यान्डबाट रोम जाँदै गरेको फिनएयरको विमानलाई इटालीका लडाकु विमानले सुरक्षा दिँदै अवतरण गराएका थिए ।

बेलायतको हिथ्रो र बर्मिङ्घम विमानस्थलमा समेत धम्की प्राप्त भए पनि ती विश्वसनीय नरहेको पुष्टि भएको छ । विभिन्न विमानमा गरिएको सुरक्षा जाँचका क्रममा हालसम्म कुनै पनि विस्फोटक पदार्थ फेला परेको छैन । बेलायतकी यातायातमन्त्री हेइडी अलेक्जेन्डरले घटनालाई दुर्भावनापूर्ण झुटो धम्कीको संज्ञा दिँदै सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । घटनामा कसको संलग्नता छ र सबै धम्कीबीच आपसी सम्बन्ध छ वा छैन भन्नेबारे अनुसन्धान भइरहेको छ ।

Skip This