
मकवानपुर । लगातारको वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरिएको छ।
हाल जलाशयमा पानीको सतह १ हजार ५२७ दशमलव ९३ मिटर पुगेको छ। यसको अधिकतम भण्डारण क्षमता १ हजार ५३० मिटर रहेको छ। जलाधार क्षेत्रमा निरन्तर भारी वर्षा भइरहेकाले पानीको सतह थप बढ्ने क्रममा छ।
केही घण्टाभित्रै जलाशयको सतह १ हजार ५२८ मिटर नाघ्न सक्ने सम्भावना रहेकाले नदीकिनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन भनिएको छ।
सम्भावित जोखिमबाट बच्न नदीकिनारबाट टाढा रहन र अग्लो तथा सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। साथै, आयोजनाबाट जारी हुने सूचना तथा मोबाइलमा प्राप्त हुने एसएमएसलाई ध्यान दिन पनि अनुरोध गरिएको छ।
जलाशयमा पानीको सतह व्यवस्थापन गर्न बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसअघि चेतावनी साइरन बजाइने व्यवस्था गरिएको छ।









प्रतिक्रिया दिनुहोस्