Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


बडीमालिकामा भारी हिमपातपछि दुई पर्यटक सम्पर्कविहीन


65
Shares

जनक बोहरा, बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीयस्थल बडीमालिकामा दर्शन तथा भ्रमणका लागि पुगेका दुई जना पर्यटक सम्पर्कविहीन भएका छन्।

भारी वर्षा र हिमपातका कारण उनीहरू सम्पर्कविहीन भएका हुन्। सम्पर्कविहीन हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका–दैजीका २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की रहेका छन्।

गत असोज ९ गते पाँच जनाको समूहमा मार्तडीबाट बडीमालिका प्रस्थान गरेका उनीहरूमध्ये तीन जना फर्किसकेका छन्। बाँकी दुई जनामध्ये मनिष शुक्रबारदेखि सम्पर्कमा छैनन् भने सागरसँग पनि गएरातिदेखि सम्पर्क हुन सकेको छैन।

प्रहरीका अनुसार बडीमालिकाबाट फर्किने क्रममा मनिष हराएपछि सागर त्रिवेणी पाटन क्षेत्रमा रोकिएका थिए। भारी हिमपातका कारण उनीहरूलाई सुरक्षित स्थानमा फर्किन कठिन भएको र दुवैको मोबाइल फोनसमेत सम्पर्कविहीन अवस्थामा रहेको जनाइएको छ।

शुक्रबारदेखि जिल्लाका उच्च हिमाली क्षेत्रमा निरन्तर वर्षा र हिमपात भइरहेकाले उद्धार कार्यमा समेत कठिनाइ भएको छ। सम्पर्कविहीन पर्यटकको खोजी तथा उद्धारका लागि जिल्ला सदरमुकाम मार्तडीबाट प्रहरी टोली परिचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Skip This