काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेका जिल्ला र प्रदेश अधिवेशन आगामी मंसिर मसान्तभित्र सम्पन्न गर्ने तयारी गरेको छ। अधिवेशनको निश्चित मिति भने केन्द्रीय कार्यसमिति बैठकबाट तय गरिने जनाइएको छ।
कांग्रेसले गत असोज १८ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेको थियो। त्यसक्रममा समय अभावका कारण जिल्ला र प्रदेश अधिवेशन पछि गर्ने निर्णय गर्दै वडा, पालिका, प्रदेशसभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रका अधिवेशनपछि सिधै केन्द्रीय महाधिवेशन गरिएको थियो।
केन्द्रीय महाधिवेशनका लागि आवश्यक प्रतिनिधि छनोट गर्ने उद्देश्यले प्राथमिकताका साथ अधिवेशन गरिए पनि बाँकी संगठनात्मक प्रक्रिया भने महाधिवेशनपछि पूरा गर्ने गरी राखिएको थियो।
कांग्रेसका ७७ जिल्लामध्ये एउटा मात्र निर्वाचन क्षेत्र भएका ३५ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ। बाँकी ४२ जिल्लामा अधिवेशन हुन बाँकी छ।
महाधिवेशन प्रतिनिधि छनोट निर्वाचन क्षेत्रबाट हुने भएकाले एउटा मात्र निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन गरिएको थियो। अब बाँकी जिल्लाका साथै प्रदेश अधिवेशनसमेत मंसिर मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य कांग्रेसले लिएको छ।









प्रतिक्रिया दिनुहोस्