काठमाडौं । सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता विपद् निम्तिन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्वास्थ्य क्षेत्रलाई पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभाग र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार २०८३ कार्तिक १२ देखि १४ गतेसम्म देशका विभिन्न स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। यसलाई मध्यनजर गर्दै स्वास्थ्य सेवा प्रवाहमा अवरोध हुन नदिन आवश्यक तयारी गर्न निर्देशन दिइएको हो।
स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईले सातै प्रदेशका प्रादेशिक स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई पत्र पठाएर आवश्यक स्वास्थ्य सेवा र प्रतिकार्य क्षमता तयारी अवस्थामा राख्न भनेको छ। इकाई प्रमुख डा। हेमन्त चन्द्र ओझाद्वारा जारी पत्रमा प्रत्येक प्रदेशमा चौबिसै घण्टा सम्पर्कमा रहन सक्ने एक जना आपतकालीन सम्पर्क व्यक्ति तोक्न र उनको विवरण इकाईमा उपलब्ध गराउनुका साथै सार्वजनिक गर्न भनिएको छ।
विपद्का बेला तत्काल उपचार सेवा उपलब्ध गराउन सम्बन्धित हब तथा स्याटेलाइट अस्पताल सञ्जालसँग समन्वय गरी आकस्मिक चिकित्सकीय टोली ९ईएमटी० लगायत आवश्यक स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्न पनि आग्रह गरिएको छ। साथै, स्वास्थ्य क्षेत्रका साझेदार संस्थासँग सहकार्य गरी उपलब्ध जनशक्ति, औषधि, स्वास्थ्य सामग्री, उपकरण, एम्बुलेन्स तथा अन्य स्रोतसाधनको विवरण अद्यावधिक गर्न निर्देशन दिइएको छ।
वर्षाजन्य विपद्बाट प्रभावित तथा घाइते नागरिकलाई छिटो स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका एम्बुलेन्स प्रेषण केन्द्रसँग निरन्तर समन्वय गर्नुपर्ने पत्रमा उल्लेख छ। एम्बुलेन्स सेवाको सहज र प्रभावकारी परिचालन सुनिश्चित गर्नसमेत इकाईले जोड दिएको छ।
यसैगरी, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित घटना तथा अवस्थाको विवरण दैनिक रूपमा ‘जिरो रिपोर्टिङ’ वा ‘इन्सिडेन्ट रिपोर्टिङ’ प्रणालीमार्फत अनिवार्य रूपमा पठाउन प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई भनिएको छ।
सम्भावित विपद्का समयमा स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न, आवश्यक औषधि तथा जनशक्तिको उपलब्धता सुनिश्चित गर्न र प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य सहायता पुर्याउन पूर्वतयारीका कामलाई प्राथमिकतामा राखिएको इकाईले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्