Logo २४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026


पृथ्वी राजमार्ग आजै खुलाउने तयारी, गलौदीमा ‘ब्याक कटिङ’ सुरु


0
Shares

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ स्थित गलौदी सडकखण्ड शनिबार अपराह्नदेखि पुनः सञ्चालनमा आउने सम्भावना देखिएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध बनेको राजमार्ग खुलाउन काम अघि बढाइएको सडक विभागले जनाएको छ।

विभागका अनुसार स्थानीय तहसँग समन्वय गरी सडकको भासिएको भागमा ‘ब्याक कटिङ’ गर्ने काम सुरु गरिएको छ। काममा कुनै अवरोध नआए र अवस्था सामान्य रहे शनिबार अपराह्न ४ बजेसम्म सडक खुलाउन सकिने अनुमान गरिएको छ।

सडक विभागले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आवश्यक काम सम्पन्न गर्न करिब आठ घण्टा लाग्न सक्ने जनाएको छ।

विभागका अनुसार यसअघि स्थानीयस्तरमा भएको अवरोधका कारण ‘ब्याक कटिङ’को काम सुरु गर्न सकिएको थिएन। अहिले सम्बन्धित निकायसँग छलफल गरी काम अघि बढाइएको हो।

गलौदीमा सडक भासिएपछि पृथ्वी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनको सञ्चालन प्रभावित भएको छ। सडक खुलाउने काम पूरा भएपछि यातायात पुनः नियमित हुने अपेक्षा गरिएको छ