काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने सेवा प्रदायकमाथि कारबाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणका अनुसार हालसम्म इन्टरनेट तथा इमेल सेवा प्रदायकबाट शुल्क वृद्धि गर्ने प्रस्ताव प्राप्त भएको छैन। साथै, शुल्क बढाउन कुनै स्वीकृतिसमेत प्रदान गरिएको छैन।
प्राधिकरणले पूर्वस्वीकृतिबिना सेवा शुल्क वृद्धि गर्न, स्वीकृत दरभन्दा बढी शुल्क लिन तथा उपभोक्तालाई मर्का पर्ने गरी अनधिकृत रूपमा सेवा सञ्चालन गर्न नपाइने जनाएको छ। यस्ता कार्य गरेको पाइएमा दूरसञ्चार ऐन तथा नियमावलीबमोजिम कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ।
त्यस्तै, कुनै सेवा प्रदायकले तोकिएको दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरेको पाइएमा उजुरी गर्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको छ।
उपभोक्ताको हकहित संरक्षण र इन्टरनेट सेवामा स्वच्छ प्रतिस्पर्धा कायम राख्न प्रचलित नियमअनुसार मात्रै सेवा शुल्क लिन सबै सेवा प्रदायकलाई प्राधिकरणले सचेत गराएको छ।









प्रतिक्रिया दिनुहोस्