काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरि बतास सम्भव नरहेको बताउनुभएको छ ।
मंगलवार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरि बतास आउन सम्भव नरहेको जिकिर गर्नुभयो ।
उहाँले नयाँ राजनीतिक दलले गरेका कामहरु आम नागरिकले विस्तारै बुझ्दै गएको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा इतिहास र पृष्ठभूमि र काम हेरेर जनताले मतदान गर्ने भएकाले सबैले सक्रियताका साथ काममा लाग्नुपर्ने बताउनुभयो । स्थानीय तहमा राम्रो परिणाम ल्याउनसके देश पुनः क्रान्तिको दिशामा अघि बढ्ने जिकिर समेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन सम्भव छैन । स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन् । अब हामीले नै जस्तो हुन्छ, हुन्छ भनेर छोडिदियौँ भने र हामी त हार्नेवाला नै हो भनेर हिँड्यो भने त एउटा कुरा हो । हामीले कसिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन । इतिहास र पृष्ठभूमि थाहा नभइ भोट हाल्दैनन् । नयाँको काम बुझ्नेले त बुझिसकेका छन् । गाउँघरमा बुझाउन बाँकी छ । विस्तारै बुझ्छन्, सबैले । स्थानीय तहमा राम्रो परिणाम निकाल्यौँ भने क्रान्तितिर देश फेरि जान्छ । यो कुरालाई तपाईं हामीले जति गहिरो गरी बुझ्छौँ, त्यति जोश आउनेछ ।’
संयोजक दाहालले आम कार्यकर्ताले जति धेरै सक्रियता देखाउँछन् त्यति नै बढी सिट स्थानीय तहको निर्वाचनमा जित्ने दाबी गर्नुभयो ।






प्रतिक्रिया दिनुहोस्