काठमाडौं । नेकपा एमालेका सांसद प्रा.डा. पुष्पराज कँडेलले भारतसँग ‘विकसित भारत र समुन्नत नेपाल’ को साझा भिजन बनाउने विषय उठे पनि नेपालको आफ्नै कार्ययोजना स्पष्ट नभएको भन्दै सरकारसँग जवाफ माग गर्नुभएको छ ।
मंगलवार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिमा ‘अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथिको दफावार छलफलका क्रममा उहाँले भारत भ्रमणबाट फर्किनुभएका अर्थमन्त्रीसँग नेपालको दीर्घकालीन विकास रणनीतिबारे प्रश्न गर्नुभएको हो ।
भारतले सन् २०४७ सम्म विकसित राष्ट्र बन्ने लक्ष्यसहित विस्तृत कार्ययोजना तयार गरेको उल्लेख गर्दै कँडेलले नेपालले अघि सारेको ‘समुन्नत नेपाल’ को अवधारणाको आधार र कार्यान्वयन योजना कहाँ छ भन्ने प्रश्न गर्नुभयो । उहाँले राष्ट्रिय योजना आयोगसँग समेत यसबारे बुझ्दा ‘समुन्नत नेपाल’ सम्बन्धी नयाँ दस्तावेज नरहेको जानकारी पाएको बताउनुभयो ।
यसअघि सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणा १५ औँ र १६ औँ योजनामा समेटिएको उल्लेख गर्दै उहाँले त्यसलाई छाडेर नयाँ अवधारणा अघि सार्नुको औचित्यबारे स्पष्ट पार्न आग्रह गर्नुभयो । कँडेलले भारत भ्रमणका क्रममा भएका सहमति तथा छलफलका विषयमा पनि अर्थमन्त्रीसँग जवाफ माग्नुभयो ।
भैरहवा विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध गराउने विषयलाई सकारात्मक रूपमा लिँदै उहाँले भारतीय सञ्चारमाध्यममा आएको नेपालको १५० किलोमिटर भूमि भारतले किनेको भन्ने समाचारको सत्यताबारे स्पष्ट पार्न आग्रह गर्नुभयो । त्यस्तै, बागडोगरा विमानस्थलसँग सम्बन्धित विषयमा भइरहेको चर्चाबारे पनि सरकारको धारणा माग गर्नुभयो ।
उहाँले सुनकोशी–सप्तकोसी आयोजना र यसअघि चर्चामा रहेको सुनकोसी–कमला डाइभर्सन आयोजनाबीचको सम्बन्धबारे समेत अर्थमन्त्रीसँग स्पष्ट पार्न आग्रह गर्नुभयो । भारतसँगको १८४ अर्ब रुपैयाँ ऋणको विषयमा त्यसको अवधि, ब्याजदर र भुक्तानीका शर्तबारे जानकारी माग गर्नुभयो ।
भारतीय रुपैयाँमै भुक्तानी गर्ने व्यवस्थालाई सकारात्मक रूपमा लिँदै उहाँले ऋणको वित्तीय पक्षबारे विस्तृत जानकारी आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यू भारत भ्रमण सम्पन्न गरी फर्किनुभएको छ । भ्रमणका समग्र उपलब्धिबारे विस्तृत जानकारी आउन बाँकी भएपनि केही महत्वपूर्ण विषयमा स्पष्टता चाहन्छु । पहिलो, भैरहवाका लागि दोहोरो हवाई रुट प्राप्त भएको विषय सकारात्मक छ। तर भारतीय सञ्चारमाध्यममा भारतले नेपालको १५० किलोमिटर भूमि खरिद गरेको भन्ने समाचार आएको छ । यसको वास्तविकता के हो ? साथै, बागडोगरा विमानस्थलसँग सम्बन्धित विषयमा पनि स्पष्ट पारिदिनुहुन अनुरोध गर्दछु । दोस्रो, सुनकोशी–सप्तकोसी आयोजना र हामीले छलफल गर्दै आएको सुनकोशी–कमला डाइभर्सन आयोजना एउटै हुन् वा फरक हुन् ? यसबारे स्पष्ट जानकारी चाहन्छु । तेस्रो, विकसित भारत र समुन्नत नेपालको साझा भिजनको कुरा आएको छ । भारतले सन् २०४७ सम्म विकसित भारत बनाउने विस्तृत कार्ययोजना बनाएको छ । तर नेपालको समुन्नत नेपालसम्बन्धी स्पष्ट दस्तावेज र कार्ययोजना देखिएको छैन । हामीसँग पहिले नै १५ औँ योजनामा अघि सारिएको समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन सोच छ, जसलाई १६औँ योजनाले पनि निरन्तरता दिएको छ । त्यसैले नयाँ अवधारणाको स्पष्ट कार्ययोजना के हो र यसले हाम्रो विद्यमान राष्ट्रिय लक्ष्यसँग कसरी तादात्म्य राख्छ भन्ने स्पष्ट हुनुपर्छ । भारतबाट प्राप्त भनिएको १८४ अर्ब रुपैयाँ ऋणको ब्याजदर, भुक्तानी अवधि र अन्य सर्तहरू के–के हुन् रु भारतीय रुपैयाँमै भुक्तानी गर्ने व्यवस्था सकारात्मक भए पनि ऋणका समग्र सर्तबारे स्पष्ट जानकारी चाहन्छु । यी विषयमा माननीय अर्थमन्त्रीज्यूबाट स्पष्ट जवाफको अपेक्षा गर्दछु ।’
भारत भ्रमणका क्रममा भएका विषयमा आधिकारिक जानकारी र सञ्चारमाध्यममा आएका समाचारबीच फरक हुनसक्ने उल्लेख गर्दै कँडेलले अर्थमन्त्रीबाट वास्तविक अवस्था स्पष्ट हुने अपेक्षा व्यक्त गर्नुभयो ।






प्रतिक्रिया दिनुहोस्