Logo ८ मंसिर २०८३, मंगलबार | Tue, Nov 24, 2026


सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्ध गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन


0
Shares

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्ध गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले यस विषयमा जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो । समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदै कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने बताउनुभयो ।

छलफलका क्रममा सभापति खड्काले राष्ट्रिय गौरवको आयोजनामा हुने ढिलाइले मधेश प्रदेशलाई मात्र नभई समग्र देशलाई असर पार्ने बताउनुभयो । उहाँका अनुसार सुनकोशी–मरिण डाइभर्सन आयोजना ढिलाइ हुँदा यसको मूल उद्देश्य प्राप्तिमा पर्ने असर र समग्र क्षतिको पनि मूल्यांकन गर्न आवश्यक छ ।

उहाँले ठेक्का तथा टेन्डर रद्द हुँदा हुने आर्थिक नोक्सानीलाई मात्र हेर्ने प्रवृत्तिमा परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । ‘मधेस अन्नको भण्डार हो । हाम्रा राष्ट्रिय गौरवका आयोजनाहरू जति ढिलो हुन्छन्, त्यसबाट मधेसलाई मात्र नभई सिंगो नेपाललाई नै क्षति पुग्छ,’ सभापति खड्काले भन्नुभयो ।

उहाँले आयोजनाको ठेक्का रद्द वा ढिलाइ हुँदा त्यसको उद्देश्य प्राप्तिमा पर्ने असर र त्यसबाट हुने समग्र क्षतिको समीक्षा गर्नुपर्ने बताउनुभयो ।

‘जुन उद्देश्यका लागि परियोजना सञ्चालन गरिएको हो, त्यो परियोजना ढिलो हुँदा वा रद्द हुँदा त्यसको उद्देश्य प्राप्तिमा पर्ने असर र त्यसबाट हुने समग्र क्षतिको विषयमा पनि हामीले समीक्षा गर्नु जरुरी छ,’ उहाँले भन्नुभयो ।

यस्ता विषयमा व्यापक समीक्षा गर्दा आयोजना कार्यान्वयनसँग सम्बन्धित सबै पक्षलाई थप जिम्मेवार बनाउन सकिने उहाँको भनाइ थियो । सभापति खड्काले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको विषयमा सार्वजनिक लेखा समितिमा व्यापक छलफल गरेर निष्कर्षमा पुगिने पनि बताउनुभयो ।

समितिले सम्बन्धित निकायबाट कागजात प्राप्त भएपछि ठेक्का रद्द गर्नुको कारण, त्यसका लागि अपनाइएको प्रक्रिया तथा आयोजनामा परेको प्रभावबारे थप अध्ययन र छलफल गर्ने जनाएको छ ।