काठमाडौं । टर्कीको इस्तानबुलस्थित माल्टेपे जिल्लामा साततले भवनको तल्लो भाग भत्किँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना भग्नावशेषमा फसेका छन् । उक्त घटनामा १० जनाको सकुशल उद्धार गरिएको छ भने अन्य बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ ।इस्तानबुल गभर्नरको कार्यालयकाअनुसार सन् १९८७ मा निर्माण गरिएको उक्त भवनमा ३३ जना बस्दै आएका थिए । बिहीवार बिहान अचानक भवनको तल्लो तीन तला खसेपछि उक्त विपद् निम्तिएको हो । भवन भत्किनुको कारण अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।
घटनास्थलमा पुगेका इस्तानबुलका गभर्नर दाभुत गुलले उद्धार टोलीले भग्नावशेषमुनि सुरुङ खनेर फसेकाहरूको खोजी गरिरहेको जानकारी दिएका छन् । थप क्षति हुन नदिन र माथिल्लो तलामा रहेको जोखिम कम गर्न भवनलाई नियन्त्रित तरिकाले भत्काउने तयारी भइरहेको छ ।
स्थानीय मिडिया टीआरटीकाअनुसार प्रहरीले घटनाको अनुसन्धान शुरु गरिसकेको छ । लापरबाहीको आशंकामा भवनका तत्कालीन आर्किटेक्ट ९वास्तुवद्०ि र साइट प्रमुखलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको विस्तृत प्राविधिक विश्लेषण र संरचनागत कमजोरीका बारेमा अनुसन्धान भइरहेको छ । हाल घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी र उद्धार टोली परिचालन गरिएको छ । भवनको संरचनात्मक आयु र हालैका वर्षहरूमा गरिएको मर्मतका बारेमा पनि प्रश्न उठेका छन् । अधिकारीहरूले अनुसन्धानपछि मात्र घटनाको यकिन कारण सार्वजनिक हुने जनाएका छन् ।









प्रतिक्रिया दिनुहोस्