धादिङ । गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज पाँच घण्टाका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डमा आवश्यक मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सबै प्रकारका सवारीसाधनको आवागमन रोक लगाइनेछ।
वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले उक्त अवधिमा यातायात सञ्चालनमा रोक लगाइएको प्रशासनले जनाएको छ।
भदौ १० गते भोटेकोशीमा आएको बाढीले पृथ्वी राजमार्गअन्तर्गत फुर्केखोलाको पक्की पुल बगाएपछि परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार सडकखण्डलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको छ।
सडक बन्द रहने समयमा यात्रु तथा सवारीसाधनलाई धादिङबेँसी–सुनौलाबजार–भोर्ले–कोसीखोला–फोस्रेटार–कल्लेरीटार सडकखण्ड वा अन्य उपलब्ध वैकल्पिक मार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।










प्रतिक्रिया दिनुहोस्