Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


धौलीगंगा बाँधका ढोका खोलियो, तटीय क्षेत्रमा सतर्क रहन आग्रह


0
Shares

प्रकाश भट्ट, कञ्चनपुर । भारतको उत्तराखण्डमा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँधबाट महाकाली नदीमा पानी छोड्न सुरु गरिएको छ। बाँधमा थुप्रिएको सिल्ट हटाउन शनिबार बिहान १ बजेदेखि ४८ घण्टाका लागि बाँधका ढोका खोलिएको हो।

एनएचपीसी लिमिटेडअन्तर्गत धौलीगंगा पावर स्टेसनले शनिबार बिहान १ बजेदेखि असोज १९ गते बिहान १ बजेसम्म सिल्ट फ्लसिङ गर्ने जनाएको छ। सो अवधिमा बाँधबाट पानीको बहाव बढ्ने भएकाले महाकाली नदीको जलस्तरमा समेत वृद्धि हुन सक्ने बताइएको छ।

महाकालीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नदी आसपास तथा तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। प्रशासनका अनुसार असोज १७ देखि १९ गतेसम्म मात्रै नभई त्यसपछि पनि धौलीगंगाबाट आएको पानीका कारण महाकालीको जलस्तर प्रभावित हुन सक्नेछ।

शनिबार बिहान ६ बजे गरिएको मापनमा शारदा ब्यारेज, बनबासामा महाकाली नदीको बहाव ४० हजार ५ सय ९९ क्युसेक मापन भएको छ। अहिले बहाव स्थिर रहे पनि धौलीगंगाबाट छोडिएको पानी तल्लो तटीय क्षेत्रमा पुगेपछि नदीको बहाव थप बढ्न सक्ने प्रशासनले जनाएको छ।

सम्भावित जोखिमबाट बच्न नदीमा माछा मार्ने, दाउरा संकलन गर्ने, फोटो तथा भिडियो खिच्ने लगायतका गतिविधिका लागि नदी किनार वा नदीभित्र नजान प्रशासनले अनुरोध गरेको छ। नदीको जलस्तरमा हुने परिवर्तनबारे स्थानीय प्रशासन तथा सुरक्षा निकायले निरन्तर निगरानी गरिरहेको जनाइएको छ।

नदीमा जोखिम बढेको अवस्था देखिए तत्काल सुरक्षित स्थानमा जान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ।

यसअघि असोज ११ र १२ गते धौलीगंगा बाँधबाट पानी छोडेर सिल्ट सफा गर्ने तयारी गरिएको थियो। तर लगातारको वर्षा र महाकाली नदीमा बढेको जलस्तरका कारण उक्त कार्य स्थगित गरिएको थियो। सो समयमा शारदा ब्यारेजमा महाकालीको बहाव १ लाख ७७ हजार ९ सय २ क्युसेकसम्म पुगेको थियो।

महाकालीको बहाव घट्दै गएपछि अहिले बाँधको सिल्ट सफा गर्ने उद्देश्यले पानी छोडिएको हो। धौलीगंगाबाट आएको पानी महाकाली नदी हुँदै तल्लो तटीय क्षेत्रमा पुग्ने भएकाले दार्चुलादेखि कञ्चनपुरसम्म नदी आसपासका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

Skip This