Logo १६ भाद्र २०८३, मंगलबार | Tue Sep 1 2026


अपर त्रिशूली–१ का बेपत्ताको उद्धारमा ढिलाइ, आफन्त आक्रोशित


0
Shares

काठमाडौँ । भोटेकोशीमा आएको का कारण रसुवामा निर्माणाधीन २१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा सम्पर्कविहीन भएका कर्मचारी तथा प्राविधिकको उद्धारमा ढिलाइ भएको भन्दै उहाँहरूका आफन्तले दबाबमूलक अभियान सुरु गर्नुभएको छ ।

मंगलबार सम्पर्कविहीन कर्मचारी तथा प्राविधिकका आफन्तहरू आयोजनाको निर्माण कम्पनी नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनीको कार्यालय पुगेर तत्काल उद्धारको व्यवस्था गर्न दबाब दिनुभएको हो ।

काँकडभिट्टाका कृष्ण खरेलले बाढी आएको सातौँ दिनमा मात्र उद्धार कार्य सुरु गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले आयोजनामा फसेका कर्मचारी तथा प्राविधिकप्रति राज्य र निर्माण कम्पनीले संवेदनहीन व्यवहार गरेको आरोप लगाउनुभयो ।

बाढीले आयोजनाको कार्यालयसमेत बगाएकाले सम्पर्कविहीन कर्मचारी तथा प्राविधिकको यकिन तथ्याङ्क उपलब्ध हुन नसकेको निर्माण कम्पनीले बताउँदै आएको उहाँको भनाइ छ । आफन्तको खोजी आफैँ गर्न खोज्दा समेत सरकारले अनुमति नदिएको र राज्यका तर्फबाट पनि प्रभावकारी उद्धार हुन नसकेको उहाँले बताउनुभयो ।

उद्धारका लागि हेलिकप्टर उपलब्ध नभएको जानकारी पाएपछि पीडित आफन्तहरू सोमबार साँझ कम्पनीको कार्यालयमा तोडफोड गर्न बाध्य भएको उहाँले बताउनुभयो । उहाँका अनुसार आयोजनाको सुरुङमा ४३ जना कर्मचारी तथा प्राविधिक रहेको जानकारी आफन्तहरूले पाएका छन् ।

खरेलले भन्नुभयो, “अपर त्रिशूली–१ जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा प्राविधिकमाथि निर्माण कम्पनी र राज्यका तर्फबाट पशुवत् व्यवहार भइरहेको छ । आयोजनामा फसेर सम्पर्कविहीन भएका कर्मचारीको खोजी हिजोदेखि मात्र सुरु भएको छ ।”

उहाँले आयोजनाको कार्यालय बाढीले बगाएको भन्दै अहिलेसम्म सम्पर्कविहीन कर्मचारीको यकिन तथ्याङ्कसमेत उपलब्ध नगराइएको बताउनुभयो । आफन्तहरू स्वयं खोजीमा जान तयार भए पनि अनुमति नदिइएको उहाँको भनाइ छ ।

उहाँका अनुसार आफन्तहरूले उद्धारका लागि सेना प्रमुख र गृह मन्त्रालयका सचिवसँग समेत समन्वय गरी हेलिकप्टरसहितको उद्धार टोली परिचालन गर्न आग्रह गर्नुभएको थियो । तर, उद्धारका लागि हेलिकप्टर उपलब्ध नभएको जानकारी पाएपछि आफूहरू आक्रोशित भएको उहाँले बताउनुभयो ।

सुरुङभित्र ठूलो ढुङ्गाले बाटो अवरुद्ध गरेको जानकारी आएको भन्दै उहाँले उद्धारका लागि प्राविधिक टोली परिचालन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो । उद्धारका लागि आवश्यक जेनेरेटरको समेत व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

“आज बाढी गएको सातौँ दिनमा भर्खर उद्धार कार्य सुरु भएको छ । टनेलभित्र ठूलो ढुङ्गाले बाटो रोकेको भनिएको छ । त्यसकारण प्राविधिक टोली खटाउनुपर्छ । अहिले हामी जेनेरेटरको व्यवस्था गर्दैछौँ,” उहाँले भन्नुभयो ।

उहाँका अनुसार हाल ८७ जनाको सूची प्राप्त भएको र तीमध्ये ४३ जना सुरुङभित्र रहेको जानकारी आफन्तहरूले पाएका छन् ।

सरकारले मंगलबार मात्र जलविद्युत आयोजना निर्माण कम्पनीहरूलाई उद्धार कार्य अघि बढाउन अनुमति दिएको छ । रसुवा, नुवाकोट र धादिङमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाका सुरुङ तथा टनेलभित्र अझै करिब नौ सय जना उद्धारको पर्खाइमा रहेको बताइएको छ ।

Skip This