Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


ओखलढुंगाकाे साेक्माटारमा व्याकुल माइला गोल्डकप हुँदै


0
Shares

शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका-६ सोक्मटारस्थित दूधकोशी नदी किनारको ब्आलेम बगर खेलमैदानमा दशौँ व्याकुल माइला गोल्डकप तथा तेस्रो रूपा स्मृति महिला फुटबल कप प्रतियोगिता सुरु भएको छ ।

राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई ‘व्याकुल माइला’ को जन्मथलोमा ‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नाराका साथ नयाँ नेपाल सरोकार समाजको मुख्य आयोजनामा प्रतियोगिता आजबाट सुरु भएको हो ।

पूर्वप्रदेश मन्त्री तथा प्रदेश सांसद प्रदीपकुमार सुनुवार, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा खेलप्रेमीहरूको बाक्लो उपस्थितिमा भएको उद्घाटन समारोह पछि आजै मैत्रीपूर्ण खेल समेत सञ्चालन गरिएको छ ।

प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ चार गरी कुल २२ टोलीको प्रतिस्पर्धात्मक सहभागिता रहेको आयोजकले जनाएको छ । आज भएको उद्घाटन खेलमा मानेभञ्ज्याङ गाउँपालिका र आयोजक भेट्रान्स टिमबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको छ ।

प्रतियोगिताअन्तर्गत भोलिदेखि भने लिग तथा नकआउट चरणका नियमित खेलहरू सञ्चालन हुनेछन् । विक्रम संवत् २०६८ सालदेखि निरन्तर आयोजना हुँदै आएको प्रतियोगिताका लागि स्थानीय मानेभञ्ज्याङ गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजन गरेर पुरस्कार समेत वृद्धि गरिएको मानेभञ्ज्याङ गाउँपालिकाका उपाध्यक्ष आश्रचन राईले जानकारी दिनुभय‍‍ो ।

पुरुषतर्फ प्रतियोगिताको प्रथम पुरस्कार रु. तीन लाख ३३ हजार ३३३, दोस्रो पुरस्कार रु. एक लाख ५० हजार १११ र सेमिफाइनलिस्ट दुई टोलीका लागि रु. ८० हजार नगद पुरस्कार राखिएको छ । विधागततर्फ समेत पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइएको छ ।

यस्तै महिलातर्फ प्रथम पुरस्कार रु. २५ हजार, दोस्रो पुरस्कार रु. १५ हजार र सेमिफाइनलिष्टलाई रु. ५ हजारका दरले नगद राशि राखिएको छ । विगतको भीषण बाढीका कारण क्षतिग्रस्त बनेको खेलमैदानलाई स्थानीय तह र आयोजकको पहलमा मर्मतसम्भार गरी व्यवस्थित बनाइएपछि यसवर्ष खेल आयोजना गरिएको हो । प्रतियोगिता आगामी कात्तिक १७ गतेसम्म जारी रहनेछ ।

Skip This