लहान । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत वडा नं. २२ को सिसौनी र पतेरवा क्षेत्रमा बिहीबार सडक नाटक तथा स्वच्छता र्याली आयोजना गरिएको छ।

समुदायमा सरसफाइप्रति चेतना अभिवृद्धि गर्नुका साथै स्वच्छतालाई दैनिक व्यवहारमा स्थापित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरण संरक्षण तथा स्वस्थ जीवनशैलीका विषयमा स्थानीयवासीलाई सचेत गराइएको थियो।

स्थानीय युवा, महिला, बालबालिका तथा सर्वसाधारणको सहभागितामा निकालिएको र्यालीले वडा नं. २२ का सिसौनी र पतेरवा क्षेत्रका विभिन्न स्थान परिक्रमा गरेको थियो। र्यालीमा सहभागीहरूले स्वच्छता र स्वास्थ्यसम्बन्धी विभिन्न सचेतनामूलक नारासहित सरसफाइप्रति जिम्मेवार बन्न स्थानीय समुदायलाई आह्वान गरेका थिए। स्वच्छ र स्वस्थ वातावरण निर्माणमा प्रत्येक नागरिकको भूमिका महत्वपूर्ण हुने सन्देशसमेत र्यालीमार्फत प्रवाह गरिएको थियो।

र्यालीपछि प्रस्तुत गरिएको सडक नाटकमा स्थानीय परिवेशसँग सम्बन्धित कथावस्तु र संवादमार्फत सरसफाइका विषयलाई प्रस्तुत गरिएको थियो। नाटकमा शौचालयको नियमित प्रयोग, व्यक्तिगत स्वच्छता, वातावरण संरक्षण तथा खुला दिसामुक्त अवस्थाको दिगोपनाजस्ता विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।

नाटकमार्फत शौचालयलाई केवल भौतिक संरचनाका रूपमा नभई स्वास्थ्य, आत्मसम्मान र सामाजिक मर्यादासँग सम्बन्धित महत्वपूर्ण पक्षका रूपमा प्रस्तुत गरिएको थियो। सरसफाइलाई व्यक्तिगत जिम्मेवारीमा मात्र सीमित नराखी परिवार, समुदाय र समाजको साझा दायित्वका रूपमा लिनुपर्ने सन्देश पनि कार्यक्रममा दिइएको थियो।

कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले सडक नाटकजस्ता सिर्जनात्मक माध्यमबाट प्रस्तुत गरिने सन्देश समुदायका विभिन्न वर्गसम्म सहज र प्रभावकारी रूपमा पुर्याउन सकिने बताएका थिए। लहान नगरपालिकाका नगर प्रमुख महेशप्रसाद चौधरीले ‘घर–घरको शान, स्वच्छता अभियान’लाई सरसफाइमा मात्र केन्द्रित नराखी नागरिकको सोच र व्यवहारमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ अघि बढाइएको बताए।

उनले स्वच्छ तथा स्वस्थ नगर निर्माणका लागि भौतिक पूर्वाधार विकाससँगै नागरिकस्तरमा जनचेतना अभिवृद्धि र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरे। अभियानमार्फत शौचालयको नियमित तथा दिगो प्रयोगलाई प्रोत्साहन गर्नुका साथै व्यक्तिगत र वातावरणीय सरसफाइलाई दैनिक जीवनशैलीको हिस्सा बनाउने लक्ष्य रहेको उनले बताए।

नगरपालिकाले अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिँदै नगरका विभिन्न वडा तथा टोलमा सडक नाटक, स्वच्छता र्याली, अन्तरक्रिया तथा अन्य जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। नागरिकको सहभागिता र स्थानीय समुदायसँगको सहकार्यमा स्वच्छ, स्वस्थ तथा व्यवस्थित लहान निर्माण गर्ने अभियानलाई थप प्रभावकारी बनाउने नगरपालिकाको लक्ष्य छ।













प्रतिक्रिया दिनुहोस्