काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीमा जान ७० हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन् ।
वैदेशिक रोजगार विभागले श्रम स्वीकृति लिनेमा ६० हजार ४ सय ७२ जना पुरुष र ९ हजार ९ सय ६९ जना महिला रहेकाे जनाएकाे हाे। उनीहरूले २०८३ साउन १ गतेदेखि ३१ गतेसम्मको अवधिमा १ सय १४ देशमा वैदेशिक रोजगारीमा जान विभागबाट श्रम स्वीकृति लिएका थिए। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा वैदेशिक रोजगारीमा जान ६८ हजार १ सय १० जनाले श्रम स्वीकृति लिएका थिए ।
२०८२ साउनमा ९ हजार १ सय ६२ महिला र ५८ हजार ९ सय ४८ जना पुरुषले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन् । २०८३ साउनमा वैदेशिक रोजगारीको सिलसिलामा सबै भन्दा बढी श्रम स्वीकृति क्रमशः युनाइटेड अरब इमिरेट्स (यूएई), मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, रोमानिया, जापान, ओमान, पोर्चुगल र टर्की जान लिएको विभागको तथ्यांकले देखाउँछ ।
विभागले गत साउन महिनामा १८ हजार ७ सय ८४ ले यूएई, १२ हजार ४ सय ९८ ले मलेसिया, १० हजार ३ सय ६० ले कतार, आठ हजार ६ सय १३ ले साउदी अरेबिया, चार हजार ५ सय ६७ ले कुवेत, दुई हजार ९ सय ८ ले रोमानिया, एक हजार २ सय ४४ ले जापान, एक हजार १ सय ७९ ले ओमान, एक हजार १ सय ७९ ले पोर्चुगल र एक हजार २१ जनाले टर्की जान श्रम स्वीकृति लिएकाे जनाएकाे हाे।









प्रतिक्रिया दिनुहोस्