काठमाडाैं । प्रतिनिधि सभाका सांसदहरूले मुलुकका विभिन्न भागमा खाना पकाउने ग्यास (एलपीजी) को चरम अभाव देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाकाे मंगलबार बसेकाे बैठकको ‘शून्य समय’ मा बोल्दै सांसदहरूले बजारमा ग्यासको अभाव हुँदा सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको र तत्काल आपूर्ति सहज बनाउन माग गरेका हुन्। सांसद मोहनलाल आचार्यले सम्बन्धित मन्त्रीले सदनमा ग्यासको अभाव नरहेको दावी गरे पनि व्यवहारमा आफ्नै जिल्ला लगायत मुलुकका धेरै भागमा अभाव कायम रहेको बताउनुभयो ।
सांसद आचार्यले ग्यासको सहज आपूर्तिका लागि बजार अनुगमनलाई तीब्र बनाउन र कतै लुकाइएको वा कृत्रिम अभाव सिर्जना गरिएको भए त्यसको प्रभावकारी छानबिन गर्न सरकारसँग माग गर्नुभएकाे छ। ग्यासको विकल्पका रूपमा विद्युतीय ऊर्जालाई प्रवद्र्धन गर्न विद्युत्मा लगाइएको ५ प्रतिशत मूल्य अभिवृद्धि करकाे बारेमा पुनर्विचार गर्न र वैकल्पिक ऊर्जाका कार्यक्रमहरूलाई प्राथमिकता दिन समेत आग्रह गर्नुभयो ।
अर्का सांसद यज्ञबहादुर बोगटीले सरकारले ग्यास पर्याप्त रहेको दावी गरिरहँदा नागरिकहरू भने रित्तो सिलिण्डर बोकेर लाइनमा बस्न बाध्य भएको प्रति सरकारको आलोचना गर्नुभएकाे छ। उहाँले आयात भइरहेको भनिएको ग्यास बजारमा किन पुगिरहेको छैन भनी प्रश्न गर्दै जनताको चुलो बल्न नसक्ने अवस्थालाई सरकारले सामान्य रूपमा लिन नहुने बताउनुभयो ।
सांसद बोगटीले ग्यासको आपूर्तिलाई तत्काल नियमित र व्यवस्थित बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।









प्रतिक्रिया दिनुहोस्