काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा एमाले माथी चौतर्फी घेराबन्दी रहेको बताउनुभएको छ ।
पार्टी कार्यलय च्यासलमा केन्द्रिय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा उहाँले पार्टीमाथी भइरहेको घेराबन्दीलाई एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताउनुभएको हो । उहाँले विगत केही वर्ष अगाडीदेखी नै एमालेमाथी घेराबन्दी हुँदै आएको बताउनुभयो ।
आगामी निर्वाचनमा पनि एमालको विरुद्धमा मोर्चाबन्दी हुनसक्ने बताउनुभयो । एमालेविरुद्धको २०७७ सालदेखि नै घेराबन्दी शुरु हुन लागेको उहाँको आरोप छ । २०७७ सालमा पार्टी कब्जा गरेर ध्वस्त पार्ने प्रयास असफल भएपछि २०७८ साल भदौ १० गते पार्टी विभाजन गराएको बताउनुभयो । २०७९ सालको निर्वाचनमा विभिन्न राजनीतिक दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेको उहाँको भनाइ छ ।
त्यस्तो परिस्थितिमा पनि एमाले लोकप्रिय पार्टी बनेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि एमालेलाई बलियो बनाउन लाग्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सञ्जालमार्फत एमाले पार्टी र नेताहरूको चरित्रहत्या गर्ने तथा जनतामाझ अलोकप्रिय बनाउने प्रयास हाल पनि जारी रहेको आरोप लगाउनुभयो ।
उहाँले पार्टीभित्र कै केही नेताका गलत गतिविधिका कारण पनि थप चुनौती उत्पन्न भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो अगाडि निर्वाचन आउँदैछ र यस निर्वाचनमा पनि हामीलाई घेर्ने काम हुन सक्छ, हामी विरुद्धको घेराबन्दी सिद्धिएको छैन । यो एकदमै चालू छ अहिले पनि । घेराबन्दी चालू छ । २०७७ सालमा सालमा हाम्रो पार्टी कब्जा गरेरै ध्वस्त पार्न खोजियो, म समेत १० जना नेता पार्टीबाट निष्काशन गरियो । हामीले नै एकताका लागि भनेर दिएको बहुमतको दुरुपयोग गर्ने काम भयो । हामीले पुनर्गठन गरेर अगाडि बढ्यौँ । फेरी २०७८ साल भदौ १० गते फेरी हाम्रो पार्टी फुटाइयो । हाम्रा पार्टीका हस्ती भनेका व्यक्तिहरूबाटै पार्टी फुटाइयो । हामीले अत्यन्तै उदारताका साथ, अत्यन्तै फराकिलोपनका साथ, मनका साथ व्यवहार गर्यौँ । सकेसम्म साथीहरूलाई फेरी समेट्यौँ र अगाडि बढ्यौँ । २०७९ को निर्वाचनमा देश नै हाम्रा विरुद्ध चुनावमा मोर्चाबन्दी । सिङ्घै देशको हामी विरोधी मोर्चा भयो । सबैका विरुद्ध हामी लड्नुपर्यो । मोर्चा सानोतिनो थिएन, हाम्रा विरुद्धको । फेरी पनि हामी सबभन्दा पपुलर पार्टी भयौँ । त्यसपछि हामी विरुद्धको अभियान अर्को ढङ्गले तीव्र पारियो, सामाजिक सञ्जालमार्फत हाम्रो चरित्र हत्या गर्ने, हामीलाई जनताका नजरमा गिराउने, अलोकप्रिय बनाउने, हाम्रो लोकप्रियता घटाउने, यी सब कामहरू भए । यसका विरुद्ध पार्टी एकजुट भएर लड्यो, लड्नुपथ्र्यो । केही साथीहरूलाई सम्झाउन सकिएन, केही साथीहरू अलिकति गलत धन्दामा संलग्न भइरहे । जहिले पनि पार्टीभित्र विरोध नै गरिरहने, सहमति भनेको कहिल्यै पनि नहुने त्यस्तो पनि हुन्छ रु तर त्यस्तो केही भयो । अब हामीले ती कुरा गर्नु पनि हुँदैन, गर्न दिनु पनि हुँदैन । त्यस्तो हुन पनि हुँदैन, हुन दिनु पनि हुँदैन । यो पार्टी महान् उद्देश्य बोकेर सत्य, समानता र मानवताको बाटोमा हिँडेको पार्टी हो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने बाटोमा हिँडेको पार्टी हो, हामी साना–मसिना गलत कुरा, क्रियाकलापमा अल्झिने हुँदैन । त्यसकारण पार्टीमा सुदृढ एकताका साथ अगाडि बढ्नुपर्छ । आजको आवश्यकता त्यही हो ।’
अध्यक्ष ओलीले नेपालमा लोकतन्त्र कमजोर बनाउने काम भइरहेको पनि आरोप लगाउनुभयो । नेपालको राष्ट्रिय अस्मितामा आँच पुर्याएर स्वाधीनता र स्वतन्त्रता कमजोर पारिएको उहाँको दाबी छ ।
नेपालको स्वाधीनता र स्वतन्त्रताको पुनःस्थापनाका लागी आन्दोलनमा उत्रिनपर्ने अवस्था समेत आउन सक्ने उहाँले बताउनुभयो । आन्दोलनका क्रममा दमन भएमा त्यसको प्रतिवाद गर्ने उहाँको भनाई छ । उहाँले आन्दोलन न्याय, शान्ति र अग्रगमनका लागि हुनुपर्ने बताउनुभयो । तर नेपालमा आगजनी र लुटपाटलाई आन्दोलन भनेर आन्दोलनकै अपव्याख्या भईरहेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘शान्तिका लागि आन्दोलन गर्न पर्यो निहत्था जनतालाई असङ्गठित जनतालाई सङ्गठित शक्तिले हतियार र सङ्गठित शक्तिको बलमा दबायो भने त्यसमा जनताले प्रतिवाद गर्नुपर्ने हुनसक्छ । त्यो प्रतिवादलाई हामी आन्दोलन भन्छौँ । आगो लाउनु आन्दोलन होइन, लुटपाट गर्नु आन्दोलन होइन । आन्दोलन भनेको सङ्गठित र सशस्त्र शक्तिले असङ्गठित र निरस्त्र शक्तिलाई ठूलो र बलियोले कमजोरलाई बलजफ्त दमन गर्छ भने त्यसको प्रतिवाद गर्नु आन्दोलन हो । गलतका विरुद्ध, अग्रगमनका लागि, न्यायका लागि, शान्तिका लागि, दमनका विरुद्ध, आन्दोलन गर्नुपर्ने हुन्छ, त्यो देशका लागि हुन्छ, त्यो जनताका लागि हुन्छ, त्यो बृहत्तर बृहत्तर हितका लागि हुन्छ । यी चिजहरूलाई अहिले नेपालमा शत्रु बनाइएको छ, खोसिएको छ, लोकतन्त्र मासिएको छ, राष्ट्रिय अस्मिता कमजोर बनाइएको छ, स्वाधीनता, स्वतन्त्रता कमजोर बनाइएको छ । यस्तो स्थितिमा हामीसँग यी चिजहरूको पुनप्र्राप्ति गर्नु, पुनर्वापसी अनिवार्य शर्त हो । त्यसकारण यसको पुनर्वासीका लागि बलजफ्त दमन गरिन्छ भने दमन अस्वीकार गरेर प्रतिवादमा उत्रिनुपर्ने हुन्छ, त्यसलाई आन्दोलन भन्छन् । जो कुरा हामी विगतमा पनि गरी आएका छौँ फेरि पनि गर्नुपर्ने हुन्छ ।’
पार्टीका सदस्यहरूलाई उहाँले निष्ठापूर्वक सक्रियताका काममा लाग्न निर्देशन दिनुभयो । पार्टीमा अब विगतलाई हेरेर मात्रै मुल्यांकन नहुने बताउनुभयो । निति र नेतृत्वप्रतिको ईमानदारिता र कर्मशिलतालाई पनि मुल्यांकनको आधार बनाईने उहाँको भनाई छ ।









प्रतिक्रिया दिनुहोस्