Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


जाजरकोटमा पहिरोमा परी १ जनाकाे निधन, ७ घाइते, ३ बेपत्ता


143
Shares

काठमाडाैं । जाजरकोटको भेरी नगरपालिका-२ मा पहिरोमा परी एक जनाको निधन भएकाे छ।

पहिरोमा परी अन्य ७ घाइते हुनुका साथै ३ जना बेपत्ता भएका हुन्। पहिरोमा परेका स्थानीय केदार कार्कीको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पुरिएका ५४ वर्षीया उमासिंह खत्री, चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र अर्का एक जनाको खोजी कार्य जारी रहेकाे छ।

घाइते भएका ७ जनामध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भैरहेको र अरू २ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको हाे । लगातारको वर्षासँगै बाढी र पहिरोले जिल्लाका विभिन्न क्षेत्रमा गरेको क्षतिको थप विवरण आउन बाँकी छ । बाढीपहिरोका कारण जाजरकोटको भेरी नगरपालिकाका रिसाङ, स्याँला, माथिल्लो थाप्ले र ठाँटी खण्ड, पिपे, मैदे, डौरीकाँडा, घुयलनेटा र रावतगाउँका बस्ती उच्च जोखिममा परेका हुन् ।

सडक ठाउँ–ठाउँमा भत्किएर अवरुद्ध भएकाले उद्धार कार्य समेत प्रभावित भएको छ । जिल्ला प्रशासन कार्यालय, पालिका तथा सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई शतर्क रहन, पहिरोको जोखिम भएका घर तथा ठाउँबाट सुरक्षित ठाउँमा जान र अनावश्यक रूपमा यात्रा नगर्न आग्रह गरिएकाे जनाएका हुन् ।