Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


वाणिज्य बैंकहरूको नाफा करिब ३२ प्रतिशतले बढ्यो

एभरेस्ट बैंकको लाभांश क्षमता सबै बढी ३८ प्रतिशत 

78
Shares

काठमाडाैं। ऋण लगानी कमजोर भए पनि गत आर्थिक वर्ष वाणिज्य बैंकहरूको नाफा करिब ३२ प्रतिशतले बढेको छ ।

गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरणअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले ६९ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएका हुन् । यो नाफा आर्थिक वर्ष २०८१/८२ को भन्दा ३१ दशमलव ९५ प्रतिशतले धेरै हो । आर्थिक वर्ष २०८१/८२ मा २० वटा वाणिज्य बैंकले कूल ५२ अर्ब ८८ करोड रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्ष २० वटा बैंकमध्ये १९ वटा नाफामा रहँदा प्रभु बैंक भने २४ करोड रुपैयाँ नोक्सानीमा गएको छ । रकमका आधारमा सबै भन्दा बढी नबिल बैंकले ७ अर्ब ९० करोड रुपैयाँ नाफा कमाएको हाे ।

बैंकहरूको नाफा बढे पनि मुख्य आम्दानी मानिने खुद ब्याज आम्दानी भने १ प्रतिशतले बढेर १ खर्ब ९२ अर्ब ३५ करोड रुपैयाँ मात्रै पुगेको छ । कर्जा लगानी बढ्न नसक्दा र किस्ता असुलीमा समस्या आउँदा बैंकहरूमा १३ खर्ब रुपैयाँ भन्दा धेरै रकम लगानी हुन नसकेर थन्किएको हाे। यस अवधिमा बैंकहरूको औसत खराब कर्जा ४ दशमलव ५१ प्रतिशतबाट बढेर ५ दशमलव ३५ प्रतिशत पुगेको छ ।

समग्रमा बैंकहरूको औसत लाभांश क्षमता १३ दशमलव ४२ प्रतिशत देखिएकोमा एभरेस्ट बैंकको लाभांश क्षमता सबै भन्दा  बढी  ३८ दशमलव ३२ प्रतिशत रहेको हाे ।