Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


जलवायु परिवर्तनका मुद्दामा युवाको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउनेछु: मन्त्री चौधरी

आगामी दिनमा जलवायु नीति तर्जुमा र कार्यान्वयनमा महत्त्वपूर्ण मार्गदर्शन गर्ने विश्वास

78
Shares

काठमाडाैं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न र नीति निर्माणमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित गर्न प्रतिवद्ध रहेको बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबारदेखि शुरु भएको तीन दिने ‘लोकल कन्फरेन्स अफ युथ’ (एलसीओवाई) को उद्घाटन गर्दै मन्त्री चौधरीले यस्ताे प्रतिवद्ध रहेको बताउनुभएको हाे। जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न र नीति निर्माणमा युवाहरूको सार्थक सहभागिता सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयाे। मन्त्री चौधरीले नेपालको जलवायु परिवर्तनमा न्यून योगदान रहे पनि भौगोलिक संवेदनशीलताका कारण नेपाल विश्वकै अति जोखिमपूर्ण मुलुकको सूचीमा रहेको उल्लेख गर्नुभएकाे छ।

मन्त्री चौधरीले यस्ता युवा केन्द्रित कार्यक्रमबाट प्राप्त हुने निष्कर्ष र सुझावहरूले आगामी दिनमा जलवायु नीति तर्जुमा र कार्यान्वयनमा महत्त्वपूर्ण मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सम्मेलनबाट आउने निचोडलाई आगामी कोप–३१ लगायतका विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको साझा आवाजका रूपमा पुर्‍याउने प्रतिवद्धता समेत जनाउनुभएकाे छ। वर्तमान सरकारमा युवाहरूको उल्लेख्य प्रतिनिधित्व रहेको चर्चा गर्दै मन्त्री चौधरीले यसलाई युवाहरूका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने र नीतिगत तहमा हस्तक्षेप गर्ने ठूलो अवसर भएको जिकिर गर्नुभयो ।

मन्त्री चौधरीले कार्यक्रमका आयोजक तथा सहभागीहरूलाई सम्मेलनको निष्कर्षसहित मन्त्रालयमा विस्तृत छलफलका लागि आउन समेत आह्वान गर्नुभएकाे छ । शुक्रबारदेखि शुरु भएको यस सम्मेलन तीन दिनसम्म जारी रहने भएकाे हाे । जहाँ देशैभरका युवाहरूले जलवायु परिवर्तनका असर र न्यूनिकरणका उपायबारे बहस र पैरवी गर्ने भएका छन् ।