काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिंहदरबार परिसरभित्र सुलभ मूल्यको खाद्य बिक्री कक्ष सञ्चालनमा ल्याएको छ ।
कम्पनीले सिंहदरबारमा रहेकाे उद्योग मन्त्रालय र गृह मन्त्रालयकोबीचमा रहेको स्थानमा बिक्री कक्ष सञ्चालनमा ल्याएको जनाएकाे हाे। बिक्री कक्षको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले उद्घाटन गर्नुभएकाे छ। कम्पनीको वार्षिकोत्सवको अवसरमा सञ्चालनमा ल्याइएको उक्त बिक्री कक्षमा करिब १ सय २४ प्रकारका खाद्य तथा दैनिक उपभोग्य सामग्री बिक्री–वितरणका लागि राखिएको छ ।
कम्पनीले त्यहाँबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तुहरू सुलभ मूल्यमा खरिद गर्न सक्ने व्यवस्था गरिएको जनाएको हाे । उद्योगमन्त्री यादवले बिक्री कक्षको उदघाटन गर्दै उपभोक्तालाई सहज, गुणस्तरीय र सुलभ मूल्यमा खाद्य सामग्री उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएको उहाँको सचिवालयले जनाएको छ ।
कम्पनीले सिंहदरबारको केन्द्रमै यस्तो बिक्री कक्ष सञ्चालनमा आएपछि मन्त्रालयमा आउने कर्मचारी, सेवाग्राही तथा आसपासका उपभोक्ताले समेत सहज रूपमा आवश्यक खाद्य सामग्री खरिद गर्न सुविधा पाउने विश्वास गरेकाे हाे ।









प्रतिक्रिया दिनुहोस्