Logo २८ श्रावण २०८३, बिहिबार | Thu Aug 13 2026


जन आस्थाका पत्रकार किशोर श्रेष्ठ पक्राउ गरिएकाेप्रति महासंघकाे आपत्ति (विज्ञप्तिसहित)

सरकारको स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भर्त्सना

0
Shares

काठमाडौं । नेपाल पत्रकार महासंघले जन आस्था साप्ताहिक पत्रिकाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ।

महासंघले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारी संयन्त्र प्रयोग गरी पत्रकार श्रेष्ठमाथि गरिएको यस्तो व्यवहार प्रेस तथा अभिव्यक्ति स्वन्तत्रता, पत्रकार आचारसंहिता र नेपालको संविधानविरुद्ध रहेको महासंघ ठहर गरेकाे हाे। पक्राउ लगत्तै समाचारको स्रोत खोज्न प्रहरीबाट बुधबार राति १ बजेतिर उहाँको घरमा र बिहीबार बिहानै कार्यालयमा खानतलासी गरिएको जानकारी प्राप्त भएको महासंघका तर्फबाट महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

समाचारमा चित्त नबुझेका विषयमा हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालमा रहेको महासंघले स्मरण गराएको हाे । यो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतामाथि प्रहार गरेको महासंघको बुझाइ छ। महासंघ सरकारको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भर्त्सना गरेकाे हाे।

महासंघले प्रेसविरोधी यस्ता व्यवहार सच्याउन र पत्रकार श्रेष्ठलाई तत्काल बिनासर्त रिहा गर्न माग गरेको छ । प्रेस स्वतन्त्रताको सम्मान गर्न र समाचारको विषय भए प्रेस काउन्सिलमार्फत आवश्यक प्रक्रिया अवलम्बन गरी समाधान खोज्न महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हाे ।

साथै, आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई महासंघले आग्रह समेत गरेकाे छ। पत्रकार श्रेष्ठलाई बुधबार राति करिब ९ बजे ललितपुरस्थित उहाँको निवासबाट प्रहरीले पक्राउ गरेको महासंघले जनाएको हाे । हाल उहाँलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको छ ।