Logo २५ भाद्र २०८३, बिहिबार | Thu Sep 10 2026


ट्राफिक प्रहरीलाई व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न सभापति गजुरेलकाे निर्देशन

'ट्राफिक प्रहरीका कारण नागरिकले दुःख पाएको गुनासाे अब सुन्न नपरोस्'

234
Shares

काठमाडाैं । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ट्राफिक प्रहरीलाई बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिनुभएको छ ।

काठमाडाैंमा आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उहाँले यस्ताे निर्देशन दिनुभएको हाे । ट्राफिक प्रहरीले नागरिकसँग गर्ने व्यवहारमा सुधार आवश्यक रहेको सभापति गजुरेलले बताउनुभयाे । उहाँले केही ट्राफिक प्रहरीले गरेको गल्तीका कारण आम संगठनले बदनामी भोग्न नहुने बताउनुभएकाे छ । उहाँले कतिपय ट्राफिक प्रहरीले नागरिकलाई ट्राफिक नियम उल्लंघन गर्नेलाई पनि चिट नकाटी पैसा लिएर मात्रै छाड्ने गरेको गुनासो आएको समेत बताउनुभयो ।

सभापति गजुरेलले संगठनमा अब यस्ता कुरा अस्वीकार्य हुने बताउँदै प्रहरी कर्मचारीले बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासनलाई अनिवार्य रूपमा पालना गर्नुपर्नेमा जोड दिनुभएकाे छ। ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री र आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउने तर नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा पनि सुधार गर्नुपर्ने उहाँको भनाइ थियाे । उहाँले ट्राफिक व्यवस्थापन सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन पनि आवश्यक रहेको बताउनुभएकाे छ । उहाँले राष्ट्रिय यातायात नीति २०८३ मा सुधारका विषय समेटिएकोले अब त्यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो ।

सभापति गजुरेलले ट्राफिक नियम उल्लंघनमा एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको भएपनि त्यस्तो व्यवस्था कार्यान्वयनमा नआएको गजुरेलले स्पष्ट पार्नुभएकाे छ। जरिवानाको रकम निर्धारण गर्नुअघि नागरिक र सरोकारवाला निकायसँग छलफल गर्ने उहाँले बताउनुभयाे । उहाँले ट्राफिक नियम कडाइका साथ कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएकाे छ।

सभापति गजुरेलले काठमाडौं लगायत विभिन्न ठाउँमा बाहिरबाट आउने नागरिकलाई ट्राफिक नियमबारे पर्याप्त जानकारी नहुँने उल्लेख गर्नुभयाे। उहाँले ट्राफिक प्रहरीलाई जनचेतना मूलक कार्यक्रम देशैभर संचालन गर्न आग्रह गनुभएकाे छ।

Skip This