Logo १८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026


धरानमा गरगहनासहित नगद रकम चोरी गर्ने तीन जना पक्राउ


65
Shares

रत्नप्रसाद आचार्य, सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–११ स्वस्तिका चोकस्थित पप्पु साहको घरमा भएको चोरी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

आइतवार बिहान करिब ३ः३० बजे पप्पु साहको घरबाट सुन–चाँदीका गरगहना, मोबाइल फोन तथा नगद रकम चोरी भएको थियो। घटनापछि इलाका प्रहरी कार्यालय धरानले अनुसन्धान तीव्र बनाउँदै तीन जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–३ बस्ने अन्दाजी २१ वर्षीया सम्झना बराइली, सोही वडाका अन्दाजी २२ वर्षीय सुमित बराइली तथा धरान–९ बस्ने अन्दाजी १९ वर्षीय मनिष विश्वकर्मा रहेका छन्। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक बबिन राईका अनुसार पक्राउ परेका तीनै जनामाथि चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। चोरी भएका सुन–चाँदीका गरगहना, मोबाइल तथा नगद रकमको विवरण संकलन गर्नुका साथै बरामद गर्ने प्रयास पनि जारी राखेको उनले बताए।

प्रहरीले घटनामा अन्य व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने आशंकामा अनुसन्धानको दायरा विस्तार गरिएको जनाएको छ। घटनासँग सम्बन्धित थप प्रमाण संकलन, बयान तथा प्राविधिक विश्लेषणका आधारमा अनुसन्धान अगाडि बढिरहेको इलाका प्रहरी कार्याल्य धरानका डिएसपी भीषणबाबू राईले बताए।

धरान क्षेत्रमा पछिल्लो समय चोरीका घटनामा वृद्धि हुन थालेपछि प्रहरीले रात्री गस्तीलाई थप प्रभावकारी बनाएको जनाएको छ। साथै, नागरिकलाई घरमा पर्याप्त सुरक्षा व्यवस्था अपनाउन, अपरिचित व्यक्तिप्रति सतर्क रहन र शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन डिएसपी राईलेआग्रह गरेका छन्।