काठमाडौं । ‘महिला शक्ति जागरण अभियान’ दाइजो कुप्रथा, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध जनचेतना फैलाउने उद्देश्यका साथ शुरु गरिएको छ।
काठमाडौंमा आइतबार कल्किजम रिसर्च सेन्टरले पत्रकार सम्मेलनकाे आयोजना गरी नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीको उपस्थितिमा ‘कल्कि वुमन’अन्तर्गत साेही अभियानको शुभारम्भ गरेको हो। कार्यक्रममा ‘कल्कि कानून’ र ‘कल्कि करेन्सी’ अभियानमार्फत सामाजिक सुधारका विभिन्न प्रस्ताव पनि सार्वजनिक गरिएको छ।

नायिका रेखा थापाले नेपालमा अझै पनि महिलाहरू अधिकारबाट वञ्चित रहेको उल्लेख गर्नुभयाे । महिलाको सशक्तीकरणका लागि अभियान प्रभावकारी बन्ने विश्वास समेत व्यक्त गर्नुभएकाे छ। उहाँले विदेशमा अध्ययन र काम गरेर स्वदेश फर्किएका कल्किजम रिसर्च सेन्टरका संस्थापकले महिला अधिकारका पक्षमा अभियान सञ्चालन गर्नु सकारात्मक पहल भएको पनि बताउनुभयाे ।
त्यस्तै, मिस नेपाल उषा खड्गीले दाइजो, महिला हिंसा र लैङ्गिक असमानताविरुद्ध व्यापक जनचेतना फैलाउन तथा कानूनी सुधारका लागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएकाे छ। उहाँले अभियानलाई राष्ट्रिय बहसको विषय बनाउन सञ्चारमाध्यम, नागरकि समाज र सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयाे।
त्यस्तै, कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टरका अध्यक्ष डा. उमाशंकर प्रसादले पूँजीवाद, साम्यवाद र समाजवादको विकल्पका रूपमा ‘कल्किवाद (कल्किजम)’ अघि सारिएको दाबी गर्दै यसले सामाजिक न्याय र समानताको नयाँ अवधारणा स्थापित गर्ने बताउनुभएकाे छ । संस्थापक ‘मिस्टर ६६६’ले अभियानको मुख्य उद्देश्य नेपाललाई दाइजो कुप्रथामुक्त राष्ट्र बनाउनु रहेको बताउनुभयाे। उहाँले तीन वर्षभित्र दाइजो प्रथाको अन्त्य, महिलाको सुरक्षा र अधिकारलाई कानूनी रूपमा थप सुदृढ बनाउने तथा सामाजिक न्यायका विषयमा राष्ट्रिय बहस सिर्जना गर्ने लक्ष्य रहेको समेत बताउनुभएकाे छ ।
जेनजी अभियन्ता जश्मिन ओजाले ‘महिला शक्ति जागरण अभियान’ले महिला सशक्तीकरण र मुक्तिमा सकारात्मक योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नुभयाे। कार्यक्रममा ‘कल्कि वुमन’का केन्द्रीय सदस्यका साथै विभिन्न क्षेत्रका सहभागीहरूको उपस्थिति रहेको थियो।










प्रतिक्रिया दिनुहोस्