Logo १३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026


कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि सानेपामा, आजै अन्त्येष्टि गरिंदै


0
Shares

काठमाडाैं । नेपाली कांग्रेसका दिवंगत वरिष्ठ नेता गोपालमान श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।

श्रेष्ठको पार्थिव शरीरमा कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएकाे हाे ।साथै राजनीतिक दलका नेता तथा कांग्रेसका कार्यकर्ताहरुले पनि श्रद्धाञ्जली दिएका छन् । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल र नेकपा एमालेका नेता प्रदीप ज्ञवाली लगायतका नेताले समेत श्रेष्ठलाई कांग्रेस पार्टी कार्यालय पुगेर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।

८३ वर्षको उमेरमा मंगलबार उपचारका क्रममा जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएपछि श्रेष्ठको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार पार्टी कार्यालयमा राखिएको हो । बुधबार नै उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कांग्रेसले जनाएको छ ।

कांग्रेसको श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको आकस्मिक केन्द्रीय समितिको बैठकले साउन १३, १४ र १५ गते पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला समितिका कार्यलयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

त्यस्तै, साउन १४ गते विहीवार केन्द्र, प्रदेश र जिल्लाका पार्टी कार्यलयहरु बन्द गर्ने र १३ औँ दिनको पुण्य तिथिमा श्रेष्ठको गृहजिल्ला स्याङ्जामा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ ।