Logo ५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026


एमाले बागमती सरकारबाट तत्काल फिर्ता नहुने

राजनीतिक परिस्थितिमा पार्टी केन्द्र र अन्य दलहरूसँग पनि संवाद गर्दै अघि बढ्ने निष्कर्ष

39
Shares

काठमाडाैं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट तत्काल फिर्ता नहुने भएको छ ।

एमाले संसदीय दलको साेमबार बसेकाे बैठकले बागमती सरकारबाट अलग हुने विषयमा पार्टीको स्पष्ट निर्देशन कुर्ने निष्कर्ष निकालेको हो । हालैका राजनीतिक घटनाक्रम र मन्त्रीहरूको राजीनामाकाे बारेमा बाहिर आएका चर्चा हल्ला मात्र भएकाले पार्टीको आधिकारिक निर्देशन पर्खिएको एमाले बागमतीले जनाएको छ । एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार, बागमती प्रदेश संसदीय दलको बैठकले बदलिँदो राजनीतिक परिस्थितिमा पार्टी केन्द्र र अन्य दलहरूसँग पनि संवाद गर्दै अघि बढ्ने निष्कर्ष निकालेको हाे ।

निरन्तर नयाँ परिस्थितिहरू सिर्जना भइरहेकाले तत्काल सरकार छाड्ने विषयमा कुनै निर्णय नभएको नेता थपलियाको भनाइ छ । केन्द्रीय तहमा नेपाली कांग्रेस र एमालेबीचको सत्ता साझेदारी टुटेपछि बागमती प्रदेश सरकारबाट एमालेका मन्त्रीहरू फिर्ता हुने चर्चा चलेको थियो । सोही अनुरुप एमालेका मन्त्रीहरूले गत असार ३२ गते अपराह्न ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकपछि राजीनामा दिने तयारी गरेका थिए ।

शुरुमा सरकारमा सहभागी मन्त्री फिर्ता गरेर ८ मन्त्रालयको भागबन्डा अनुसार पुनः नयाँ मन्त्रीहरू पठाउने गरी एमालेले तयारी गरेको थियो । तर, गठबन्धन नै परिवर्तन भएपछि पार्टीको निर्देशनअनुसार एमाले सरकारबाट अलग हुने अवस्था बनेको बनेको थियो । बागमतीमा नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीका रुपमा सरकारको नेतृत्व गरिरहनुभएको छ ।