Logo ३ श्रावण २०८३, आइतबार | Sun Jul 19 2026


विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने


52
Shares

काठमाडाैं । फिफा विश्वकप फुटबल सन् २०२६ को उपाधिका लागि आइतबार मध्यराति युरोपियन च्याम्पियन स्पेन र साविक उपाधि विजेता अर्जेन्टिनाबीच कडा प्रतिस्पर्धा हुने भएकाे छ।

अमेरिकाको मेटलाइफ स्टेडियममा आइतबार मध्य राति पौने १ बजेदेखि स्पेन र अर्जेन्टिनाबीच कडा प्रतिस्पर्धा हुने भएकाे हाे। प्रतियोगिताभर अर्जेन्टिनाले सर्वाधिक १९ गोल गरेकाे छ। स्पेनले भने जम्मा एक गोल मात्र बेहोरेको हाे । ३९ दिनसम्म चलेको विश्वकपको अन्तिम खेलमा अर्जेन्टिनाको आक्रामक शैली र स्पेनको उत्कृष्ट रक्षापङ्क्तिबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

यो विश्वकपको फाइनलमा १९ वर्षीय युवा स्टार लामिन यामाल र ३९ वर्षीय स्टार लियोनेल मेस्सीबीचको प्रतिस्पर्धाले पनि खेललाई थप विशेष बनाएको हाे । अर्जेन्टिनाका कप्तान मेसी आठ गोल र चार असिस्टसहित गोल्डेन बुट तथा गोल्डेन बलका प्रमुख दाबेदार बनेका छन् । तर फ्रान्सका किलियन एम्बाप्पे १० गोलसहित शीर्ष स्थानमा रहेका छन् ।

यता स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकप जित्ने लक्ष्य राखेको हाे। स्पेन र अर्जेन्टिनाबीच हालसम्म १४ खेल भएका छन् । दुवै टोलीले समान ६–६ खेल जितेका र दुई खेल बराबरीमा सकिएका छन् । विश्वकपमा स्पेन र अर्जेन्टिना ६० वर्षपछि पहिलो पटक खेल्न लागेका हुन् ।

यसअघि सन् १९६६ को समूह चरणमा यी दुई टोलीले खेलेका थिए । साेही समयमा अर्जेन्टिना २–१ गाेलले विजयी भएको थियो ।