Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


सेनालाई सुदृढ र कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने राष्ट्रपति जिनपिङकाे प्रतिवद्धता

बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न समेत आह्वान

13
Shares

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले सेनालाई सुदृढ र आधुनिकीकरण गर्ने तथा सत्तारूढ कम्युनिस्ट पार्टीभित्रको भ्रष्टाचारलाई निर्मूल पार्ने वाचा गर्नुभएको छ ।

पार्टीको १०५औँ स्थापना वार्षिकोत्सवको अवसरमा बुधबार ग्रेट हल अफ द पिपुलमा भेला भएका राजनीतिक तथा सैन्य नेताहरूका साथै चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) का सदस्यहरूलाई सम्बोधन गर्दै उहाँले यस्ताे वाचा गर्नुभएको हाे । ‘बलियो सेना’ को महत्त्वलाई उहाँले जोड दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ । राष्ट्रपति सीको भ्रष्टाचार विरोधी अभियानले शीर्ष पदका व्यक्तिहरूलाई हटाएपछि विश्लेषकहरूले चीनको सशस्त्र सेनाको प्रभावकारी रूपमा लड्ने क्षमतामाथि प्रश्न उठाएका हुन् ।

भ्रष्टाचार निर्मूल पार्ने उहाँको वर्षौं लामो प्रयासले विगत ३ वर्षमा २ जना रक्षामन्त्री पदच्युत भएका छन् । एक समय ७ सदस्यीय केन्द्रीय सैन्य आयोग २ जनामा सीमित भएको हाे । चीनको शीर्ष सैन्य निकायमा अहिले सी र अर्का १ जना जनरल रहेका छन् । चिनियाँ नेताले सशस्त्र सेनामाथि ‘पार्टीको पूर्ण नेतृत्वलाई कायम राख्ने’ र सेनालाई बलियो बनाउने बताएका हुन् ।

यसअघि गत मे महिनामा केन्द्रीय सैन्य आयोगले वरिष्ठ सैन्य अधिकारीमाथि कडा शिक्षा, व्यवस्थापन र निगरानी लागू गर्ने नयाँ व्यवस्था सार्वजनिक गरेको थियो । सम्बोधनका क्रममा राष्ट्रपति सीले ताइवान चीनको अभिन्न हिस्सा रहेको दोहोर्‍याउँदै ताइवानसँगको पूर्ण एकीकरण चिनियाँ कम्युनिस्ट पार्टीको ऐतिहासिक लक्ष्य र सम्पूर्ण चिनियाँ नागरिकको साझा आकाङ्क्षा भएको बताउनुभएकाे छ।

कुनै देशको नाम उल्लेख नगरी उहाँले बाह्य शक्तिको हस्तक्षेपको दृढतापूर्वक प्रतिरोध गर्न पनि आह्वान गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टी सन् १९२१ जुलाई १ मा स्थापना भएको हो । सन् २०२५ को अन्त्यसम्म यसकाे १० करोड १० लाख भन्दा बढी सदस्य रहेकाे सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।