काठमाडाैं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले सरकारले पूर्वाधार विकासमा उल्लेख्य लगानी गर्ने योजना बनाएको बताउनुभएको छ ।
राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएको हो । उपाध्यक्ष भट्टले सूचना प्रविधिको क्षेत्र पनि मुलुकको तुलनात्मक लाभको क्षेत्र भएकाले यसमा पनि लगानी बढाउने कुरालाई सरकारले प्राथमिकता राखेको स्पष्ट पार्नुभयो ।
उहाँले पछाडि परेका क्षेत्रलाई अघि बढाउन र गरिवी मुलुकबाट घटाउनका लागि पनि सरकारले पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउने नीति, कार्यक्रम र बजेट ल्याएको दावी समेत गर्नुभएकाे छ । उपाध्यक्ष भट्टले सरकारले उच्च आर्थिक वृद्धिदर गर्नका लागि निजी क्षेत्रको पनि मनोबल बढाउनुपर्ने भएकाले उनीहरुलाई करमा सहुलियत दिने निर्णय लिएको पनि बताउनुभयो ।
उपाध्यक्ष भट्टले विगतमा शुरु गरिएका सामाजिक क्षेत्रको कामलाई निरन्तरता दिनका लागि पनि आवश्यक बजेटको व्यवस्था गरिएको बताउनुभएकाे छ । उहाँले सुदूरपश्चिम प्रदेशको पूर्वाधार विकासमा पनि सरकारले लगानीको अभाव नहुने व्यवस्था गरेको जिकिर गर्नुभयो ।









प्रतिक्रिया दिनुहोस्