Logo १३ आश्विन २०८३, मंगलबार | Wed Sep 30 2026


लिखु जलविद्युत विवादः पक्राउ परेका तत्काल रिहा गर्न माग


0
Shares

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले एम.भी. दुगड ग्रुपद्वारा निर्माण गरेको लिखु जलविद्युत आयोजनाको विरोधमा आन्दोलनरत नागरिकमाथि गरिएको धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ।

गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले सोमबार एक विज्ञप्ति जारी गर्दै आयोजना प्रभावित क्षेत्रका नागरिकले उठाएका जायज मागप्रति गम्भीर बन्न र वार्ता तथा संवादमार्फत समस्याको समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेका हुन्।

रामेछापको उमाकुण्ड र सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको सिमाना भई बग्ने लिखु नदीमा एम.भी. दुगड ग्रुपले लिखु १, लिखु २ र लिखु ए जलविद्युत आयोजना निर्माण गरेको छ। उक्त आयोजनाबाट प्रभावित उमाकुण्ड गाउँपालिकाका नागरिकले विभिन्न माग राख्दै नागरिक संघर्ष समितिको अगुवाइमा निरन्तर आन्दोलन गरिरहेका छन्।

विज्ञप्तिमा जनाइएअनुसार, एम.भी. दुगड ग्रुप र नागरिक संघर्ष समितिबीच वार्ताको माध्यमबाट समाधान खोज्ने प्रयास भए पनि नागरिकले उठाएका मागमा सहमति जुट्न नसक्दा आन्दोलन थप जटिल बन्ने सम्भावना बढेको छ। यस परिस्थितिमा कुनै पनि अप्रिय घटना हुन नदिन दुवै पक्षलाई संयमित हुन गाउँपालिकाले अपिल गरेको छ।

गाउँपालिकाले आयोजनालाई नागरिकका समस्याप्रति जिम्मेवार बन्न आग्रह गर्दै भनेको छ, ‘प्रभावित क्षेत्रका नागरिकहरुले उठाएका जायज मागहरु प्रति आयोजना गम्भीर नभई आन्दोलनरत नागरिकहरुलाई धरपकड गरी नियन्त्रणमा लिने जस्ता कार्यहरु नगरी आन्दोलनका क्रममा नियन्त्रणमा लिइएका नागरिकहरुलाई तत्काल रिहा गरी वार्ता तथा सम्वादद्वारा समस्या समाधान गर्न गाउँ कार्यपालिकाको कार्यालय हार्दिक अनुरोध गर्दछ।’

यसैगरी, गाउँपालिकाले आन्दोलनका क्रममा घाइते भएका नागरिकहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ। स्थानीय र आयोजनाबीचको विवाद लम्बिँदै जाँदा त्यस क्षेत्रको अवस्था तनावपूर्ण बन्दै गएको छ।

Skip This