Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


गृहमन्त्रीविरुद्ध मानव अधिकार आयोगमा उजुरी


4.8k
Shares

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई हिरासतभित्रै मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ।

अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले ललितपुरस्थित आयोगको केन्द्रीय कार्यालयमा पुगेर निवेदन दर्ता गराएका हुन्। उनीहरूले राज्यको जिम्मेवार पदमा रहेका व्यक्तिबाटै आफूहरुमाथि गम्भीर मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्।

उजुरी अनुसार जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवादका विषयमा भारतीय दूतावासअगाडि गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तले पक्राउ गरेको थियो।

पक्राउपछि करिब आधा घण्टामै गृहमन्त्री गुरुङको नेतृत्वमा आएको टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको आरोप लगाइएको छ। निवेदकहरूका अनुसार उक्त टोलीले हिरासतभित्रै गालीगलौज गर्दै चरम मानसिक दबाब दिएको र ज्यान मार्ने धम्कीसमेत दिएको थियो। यसरी कानुनविपरीत थुनुवालाई आतंकित पारिएको उनीहरूको आरोप छ।

प्रहरी प्रशासनको मिलेमतो वा कमजोरीका कारण संवेदनशील क्षेत्रमै यस्तो घटना हुन पुगेको भन्दै निवेदनमा आयोगसँग घटनाको सत्यतथ्य छानबिन गर्न विशेष टोली खटाउन माग गरिएको छ। साथै, सोह्रखुट्टे प्रहरी वृत्तको सीसीटीभी फुटेज र आगन्तुक अभिलेख नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग गरिएको छ।

उजुरीमा पद र शक्तिको दुरुपयोग गर्दै हिरासतभित्रै मानसिक यातना दिएको आरोपमा गृहमन्त्री र संलग्न टोलीमाथि फौजदारी मुद्दा चलाउन तथा अनधिकृत प्रवेश गराउन सहयोग गर्ने प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गर्नसमेत माग गरिएको छ।