Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


हर्मुज जलमार्ग फेरि बन्द गर्ने इरानकाे घोषणा

इजरायलले लेबनानमाथि आक्रमण जारी राखेर युद्धविराम उल्लंघन गरेकाे आरोप

52
Shares

एजेन्सी । इरानले विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिने हर्मुज जलमार्ग पुनः बन्द गर्ने गरेको छ।

लेबनानमा जारी इजरायली आक्रमणलाई कारण देखाउँदै इरानको संयुक्त सैन्य कमाण्डले शनिबार सरकारी टेलिभिजनमार्फत घोषणा गरेको हो । इरानले अमेरिका र इरानबीच हालै भएको शान्ति समझदारीको पहिलो शर्त नै लेबनानसहित सबै मोर्चामा सैन्य गतिविधि रोक्नु रहेको दावी गरेको छ। तर, इजरायलले लेबनानमा आक्रमण जारी राखेको भन्दै तेहरानले वासिङ्टनमाथि प्रतिबद्धता कार्यान्वयन गर्न असफल भएको आरोप लगाएको हाे ।

यहि जुन १७ तारिखमा अमेरिका र इरानबीच युद्ध अन्त्य तथा होर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने विषयमा प्रारम्भिक समझदारी भएको थियो। उक्त समझदारीमा लेबनानमा शत्रुतापूर्ण गतिविधि अन्त्य गर्ने विषय पनि समावेश गरिएको थियो ।

यद्यपि, त्यसपछि पनि इजरायली सेनाले लेबनानका विभिन्न क्षेत्रमा आक्रमण जारी राखेको आरोप छ। केही दिनअघि अमेरिका र अन्य मध्यस्थकर्ताको पहलमा इजरायल र लेबनानबीच युद्धविराम घोषणा गरिएको भए पनि त्यो लामो समय टिक्न सकेन । युद्धविराम लागू भएको केही घण्टामै पुनः झडप शुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजरायली सेनाले ड्रोन तथा तोपखानामार्फत दक्षिणी लेबनानका क्षेत्रमा आक्रमण गरेको आराेप छ। जसमा करिब १६ जनाको मृत्यु भएको र त्यसपछि इरानले कडा प्रतिक्रिया दिँदै हर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गरेको हो। उता, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशको सुरक्षामा कुनै सम्झौता नगर्ने बताउनुभयाे। उहाँले गाजा र लेबनानमा इजरायलका सैन्य अभियान जारी रहने स्पष्ट पार्नुभएकाे छ ।

हर्मुज जलडमरूमध्य विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिन्छ। विश्वको ठूलो परिमाणमा तेल तथा ग्यास यहि मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यसको बन्दले विश्व अर्थतन्त्र र ऊर्जा बजारमा गम्भीर प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ ।यद्यपि, अमेरिकी अधिकारीहरूले हालसम्म जलडमरूमध्य पूर्ण रूपमा बन्द भएको पुष्टि गर्ने सैन्य गतिविधि नदेखिएको बताएका हुन्।

साेही विषयमा अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेको छ ।