Logo ५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026


अमेरिकाले हटायो इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी

शान्ति सम्झौतामा डिजिटल माध्यमबाट हस्ताक्षर भएपछि औपचारिक समारोह पनि रद्द

0
Shares

एजेन्सी । अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनमा आएसँगै अमेरिकाले इरानमाथि लगाएको नौसैनिक नाकाबन्दी हटाएको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्डले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार नाकाबन्दी अन्त्य गरिएको जनाएको हाे । यता इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले सम्झौताप्रति आफ्नो पहिलो सार्वजनिक प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले निराश भएर विभिन्न दबाब र प्रभाव प्रयोग गर्दै सम्झौता गराएको आरोप लगाउनुभएको छ ।

उहाँले भविष्यमा तेहरान र वासिङ्टनबीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको उल्लेख गर्दै त्यसले शत्रुको अडान स्वीकार गरिएको अर्थ नलाग्ने स्पष्ट पार्नुभएको छ । तर राष्ट्रपति ट्रम्पले भने खामेनीको अभिव्यक्तिप्रति केही प्रतिक्रिया दिनुभएको छैन । अमेरिका र इरान सम्झौता १४ वटा मुख्य बुँदामा आधारित छन् ।

जसमा हर्मुज जलमार्ग सञ्चालन गर्ने, इरानले परमाणु हतियार विकास नगर्ने, इरानमा आर्थिक विकासका कोष स्थापना लगायत छन् । दुवै पक्षले अधिकतम ६० दिनभित्र अन्तिम सम्झौता सम्पन्न गर्ने लक्ष्य राखेका छन् । सम्झौतामा हस्ताक्षरका लागि शुक्रबार स्विट्जरल्याण्डमा औपचारिक समारोह तय गरिएको थियो । तर सम्झौतामा डिजिटल माध्यमबाट हस्ताक्षर भएपछि समारोह रद्द गरिएको खबरमा उल्लेख गरिएकाे छ । यद्यपि दुवै देशका प्रतिनिधिहरू थप प्राविधिक वार्ताका लागि स्विट्जरल्याण्डमा भेट्ने अपेक्षा गरिएको छ ।

ट्रम्प प्रशासनले गरेको सम्झौताको अमेरिकाभित्रै आलोचना भइरहेको हाे । विशेष गरी इरानको पुनर्निर्माणका लागि ठूलो कोष स्थापना गर्ने प्रावधानलाई लिएर केही रिपब्लिकन नेताहरू असन्तुष्ट भएका छन् ।