काठमाडाैं । नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले आफूहरू वर्तमान सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र संसदीय प्रणालीको उपभोक्ता मात्रै नभई निर्माता भएको बताएका छन् ।
बिहीवार पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेसहितका विपक्षी दलहरू वर्तमान सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी जस्तो व्यवस्था उपभोग गर्न मात्रै नआएको बताएका छन् । उनले आफूहरु यस व्यवस्थाका निर्माता भएकाले यसको संरक्षण, सुदृढीकरण र जनविश्वास कायम गर्न जिम्मेवार रहेको बताए ।
संसदीय व्यवस्थामार्फत नै नेपालको आमूल परिवर्तन र समाजवादको यात्रालाई अघि बढाउनुपर्ने उल्लेख गर्दै उहाँले आफूहरू यसप्रति अत्यन्त जिम्मेवार, सचेत र संवेदनशील रहेको बताए। उनले हाल संसदमा विपक्षी दलहरुले विरोधका लागि मात्रै विरोध नगरेको बताएका छन् ।
महरले आफूहरूले रहरले नभई बाध्यतावश संसद अवरोध गर्नुपरेको उल्लेख गरेका छन् । संसद जनताका आवाज बुलन्द गर्ने, कानून निर्माण गर्ने र सरकारलाई उत्तरदायी बनाउने सार्वभौम संस्था भएकाले यसको अवरोध उचित नभएपनि वर्तमान परिस्थितिले यस्तो कदम चाल्न बाध्य बनाएको उहाँको भनाइ थियो । संविधान, लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका सवालमा एमालेले कुनै सम्झौता नगर्ने उल्लेख गर्दै उहाँले सरकारका निर्णय र गतिविधिहरू यी आधारभूत मूल्य विपरित भएमा सशक्त विरोध गर्ने बताएका छन् ।
उहाँले संसदमा संख्या भन्दा विचार, एजेण्डा र जनताका मुद्दा महत्वपूर्ण हुने उल्लेख गर्दै एक जना सांसदको आवाज पनि पर्याप्त हुन सक्ने बताएका छन् । उनले विपक्षी दलका रूपमा सरकारको विरोधका लागि विरोध गर्ने नीति नअपनाउने स्पष्ट पार्दै सरकारका सकारात्मक काममा समर्थन र गलत काममा रचनात्मक आलोचना तथा खबरदारी गर्ने बताए ।
महरले पछिल्लो समय सरकार र सभामुखको भुमिकाप्रति असन्तुष्टि जनाए । सरकारमा सर्वसत्तावादी प्रवृत्ति हाबी भएको आरोप लगाउँदै उनले बहुमतका आधारमा संविधान, कानुन, संसदीय अभ्यास र लोकतान्त्रिक मूल्य–मान्यतालाई बेवास्ता गर्दै अघि बढ्न खोजिएको दाबी गरेका छन् । उनले संसद स्थगित रहेको अवधिमा संसदीय समितिमा समेत एमालेका सांसदहरू सहभागी नहुने जानकारी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्