Logo १६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026


बुद्धिचाल प्रतियोगितामा पाँच मुलुकका २२६ जना खेलाडी


0
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आयोजना गरेको बुद्धिचाल प्रतियोगितामा पाँच देशका २२६ जना खेलाडी प्रतिस्पर्धामा रहेका छन् ।

कामपा वडा २४ को आयोजना नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्यापिड (१९०० मुनि) चेस टुर्नामेन्ट सुरु गरेको खेलमा पाँच देशका २२६ सहभागी रहेको बताइएको छ ।

धर्मपथमा रहेको सांस्कृतिक द्यः छेँमा खेल सुरु भएको हो । खेलको शुभारम्भ गर्दै वडा नं २४ का अध्यक्ष विनोदकुमार राजभण्डारीले, महानगरपालिका घोषणा हुँदाका उपप्रमुख स्वर्गीय नविन्द्रराज जोशीको व्यक्तित्वमाथि चर्चा गर्दै उनको योगदानलाई चीरस्मरणीय बनाइराख्न जोशीका नामबाट प्रतियोगिता थालिएको बताए ।

वडाले विश्व बुद्धिचाल महासङ्घ, एशियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो । खेल, स्वीस सिस्टममा आधारित अर्थात् एक जना खेलाडीले नौ जना खेलाडीसँग प्रतिस्पर्धा गरेर उच्च अङ्क प्राप्त गर्ने खेलाडी विजेता हुने प्रणालीमा खेलाइँदै छ ।

यसमध्ये शुक्रबारसम्ममा पाँच चरणमा खेल सम्पन्न भएको छ । यी चरणमा काठमाडौँका सिएम भगवतीप्रसाद शर्मा र दीपक महर्जन, मोराङ्का उमेश राई र मकवानपुरका फुर्वा लामाले पाँचवटै खेल जितेर शीर्ष स्थानमा रहेको प्रमुख निर्णायक (इन्टरनेशनल आर्बिटर)ज्ञानेन्द्र खाइजुले जानकारी दिए ।

खाइजुका अनुसार स्वीस लिग प्रणालीमा हरेक जितका लागि खेलाडीले १ नम्बर प्राप्त गर्नेछन् । बराबर भयो ०.५ अङ्क प्राप्त हुनेछ । प्रतियोगितामा नेपाल, भारत, अमेरिका, बेलायत र फ्रान्सका एक जना गरी २२६ जना खेलाडी सहभागी छन् । नेपालका ४८ जिल्लाबाट खेलाडी सहभागी भएका छन् ।

उमेरका हिसाबले नौ वर्षका सुवाङ्ग प्रधानदेखि ८० वर्षका भेट्रान खेलाडी सीताराम अग्रवाल प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धामा १५ जना महिला छन् । काठमाडौँ बाहिरबाट प्रतिस्पर्धाका लागि आएका खेलाडीलाई वडा कार्यालयले दुई रातको आवासीय सुविधा उपलब्ध गराएको छ ।