Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


राष्ट्रिय सभाको अधिवेशन सुरु, जनहित र सुशासनलाई प्राथमिकता दिन अध्यक्ष दाहालको आह्वान


39
Shares

काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भुमिका निर्वाह गर्न सदस्यहरूलाई आह्वान गर्नुभएको छ ।

अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरणका लागि राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भुमिका खेल्दै आएको बताउनुभएको हो ।

उहाँले विगतका चुनौती र प्रतिकूल परिस्थितिका बाबजुद संसदले विधायिकी प्रक्रियालाई निरन्तरता दिएको स्मरण गर्दै नयाँ जनादेश र नयाँ सरकार गठनसँगै संसदीय कामकारबाहीमा थप गति प्राप्त भएको उल्लेख गर्नुभयो । अधिवेशनलाई मुख्यतः ‘बजेट अधिवेशन’का रूपमा लिइन्छ ।

अध्यक्ष दाहालले यस अवधिमा सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुने जानकारी दिनुभयो ।

साथै, संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक र नेपाल प्रहरीसम्बन्धी विधेयकलगायतका मत्वपूर्ण कानुनहरूलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी संसदको काँधमा रहेको उहाँले बताउनु भयो । संसदलाई थप प्रविधिमैत्री र समावेशी बनाउने प्रयास स्वरूप यसै अधिवेशनदेखि राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारणमा ‘सांकेतिक भाषा’को प्रयोग शुरु गरिएको उहाँले घोषणा गर्नुभयो ।

यसका साथै, निर्माणाधीन संसद भवन छिट्टै सम्पन्न हुने र आधुनिक प्रविधिसहित नयाँ भवनबाट सभा सञ्चालन भई कार्यक्षमतामा वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।