Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


ब्याटिङमा अपेक्षित प्रदर्शन हुन नसक्दा हार व्यहोर्नुपर्‍योः सोमपाल


0
Shares

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तिब्र गतिका बलर सोमपाल कामीले ब्याटिङमा राम्रो शुरुवात गर्न नसक्दा टोलीले हार व्यहोर्नुपरेको स्वीकार गरेका छन् ।

खेलपश्चात सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोमपालले विपक्षीले प्रस्तुत गरेको लक्ष्य पछ्याउन सकिने भएपनि ब्याटिङ युनिटको कमजोरीका कारण नतिजा आफ्नो पक्षमा पार्न नसकिएको बताए । सोमपालकाअनुसार टोलीले बलिङतर्फ विपक्षीलाई मध्यम योगफलमा रोक्न सफल भएपनि ब्याटिङमा अपेक्षित साझेदारी हुन सकेन ।

विकेट जोगाउने रणनीतिमा रनको गति सुस्त हुनु हारको अर्को कारण रहेको उनको विश्लेषण छ । उनले प्रतिकूल मौसमले पनि खेलमा केही प्रभाव पारेको उल्लेख गरे । उनले दीपेन्द्र सिंह ऐरीको पछिल्लो प्रदर्शनको प्रशंसा गर्दै आगामी खेलहरूमा अन्य खेलाडीहरूले पनि आफ्नो जिम्मेवारी सम्हाल्ने र टोलीले पुनरागमन गर्ने विश्वास व्यक्त गरे । आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा टोलीको जित महत्वपूर्ण हुने उनको तर्क छ ।

विपक्षी ब्याट्सम्यानको प्रदर्शनका बारेमा टिप्पणी गर्दै सोमपालले उनीहरूले उत्कृष्ट ब्याटिङ गरेको बताए । विशेषगरी राम्रो बलमा पनि बाउन्ड्री प्रहार गरेर विपक्षीले नेपाली बलरहरूलाई दबाबमा राखेको उनले स्वीकार गरे । नेपाली क्रिकेटलाई यो उचाईसम्म पु¥याउन समर्थकहरूको ठूलो हात रहेको बताउँदै सोमपालले आगामी दिनमा पनि रंगशालामा आएर हौसला प्रदान गर्न आग्रह गरे । समर्थकहरू टोलीको १२ औँ खेलाडी भएको उल्लेख गर्दै उनले फ्यानहरूको उपस्थितिले खेलाडीमा थप ऊर्जा भर्ने विश्वास व्यक्त गरे ।

नेपाली राष्ट्रिय टोलीसँगको खेलमा प्रभावशाली जित दर्ता गरेपछि ओमान क्रिकेट टोलीका कप्तान जतिन्दर सिंहले टिमको सफलतामा पूर्वतयारी र स्पष्ट रणनीतिको मुख्य भूमिका रहेको बताएका छन् । हालैका पाँच खेलमध्ये चारमा जित निकाल्दै ओमानले आफ्नो लयलाई निरन्तरता दिएको छ ।

नेपालविरुद्धको खेलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कप्तान सिंहले जितको श्रेय ओमानमा गरिएको कठोर तयारी र नामिबिया भ्रमणबाट प्राप्त अनुभवलाई दिए । खेलको रणनीतिबारे बोल्दै कप्तान सिंहले पहिले ब्याटिङ गरेर बोर्डमा सम्मानजनक योगफल खडा गर्ने योजना सफल भएको बताए ।

सिंहले यस खेलमा व्यक्तिगत रूपमा पनि उत्कृष्ट प्रदर्शन गर्दै एक वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् । घरेलु क्रिकेटमा धेरै रन बनाए पनि अन्तर्राष्ट्रिय स्तरमा ठूलो इनिङ खेल्न नसकिरहेको अवस्थामा यो शतकले आफूलाई थप ऊर्जा दिएको उनले बताए । उनले आफ्नो यो सफलता र अवार्ड पत्नीलाई समर्पण गर्दै उनलाई आफ्नो ‘प्रेरणाको स्रोत’ बताएका छन् ।

ओमानको टोलीमा अनुभवी र युवा खेलाडीहरूको राम्रो सन्तुलन रहेको उल्लेख गर्दै उनले मुख्य प्रशिक्षक सुलक्षण कुलकर्णीको प्रशंसा गरे । नेपालको ब्याटिङ इनिङका क्रममा वर्षाको सम्भावनालाई मध्यनजर गर्दै स्पिनरहरू प्रयोग गरी छिटो २० ओभर सकाउने रणनीति समेत लिइएको उनले खुलाए ।

नेपाली क्रिकेट टोलीको भविष्य उज्ज्वल रहेको भन्दै सिंहले यहाँको ‘ए’ टिममा प्रतिभाशाली खेलाडीहरूको बाहुल्य रहेको र उनीहरूले अवसर पाएमा राष्ट्रिय टोलीमा ठूलो छाप छोड्ने विश्वास व्यक्त गरे । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिष्पर्धा भएको हो ।