Logo २६ जेष्ठ २०८३, मंगलबार | Wed Jun 10 2026


पत्रकार प्रकाश मैनालीलाई ‘सहकारी सञ्चार गौरव सम्मान’ प्रदान


1.1k
Shares

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–६ मा रहेको चमेतली बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन्ती) को अवसरमा सञ्चारकर्मी प्रकाश मैनालीलाई ‘सहकारी सञ्चार गौरव सम्मान’ प्रदान गरेको छ। बरहथवा नगरपालिका–६ मा आयोजित विशेष समारोहका बीच उक्त सम्मान प्रदान गरिएको हो।

संस्थाका अध्यक्ष लक्ष्मण साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य नरेन्द्र साह प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा सहकारी क्षेत्रको वर्तमान अवस्था, चुनौती तथा आगामी कार्यदिशाबारे गहन छलफल गरिएको थियो। साथै शून्य गरीबी, शून्य बेरोजगारी र शून्य कार्बन उत्सर्जनको लक्ष्यसहित सञ्चालन भइरहेको ‘थ्री जिरो क्लब’ अभियानको २५ वर्षे उपलब्धिबारे समेत चर्चा गरिएको थियो।

संस्थाले विगत चार वर्षदेखि देश तथा जिल्लामा क्रियाशील पत्रकारमध्ये उत्कृष्ट एक जनालाई ‘सहकारी सञ्चार गौरव सम्मान’ प्रदान गर्दै आएकोमा यस वर्ष मैनालीलाई सम्मान गरिएको हो। पत्रकार मैनाली सर्लाहीको लालबन्दीस्थित सामुदायिक रेडियो एकताका स्टेशन म्यानेजर, ‘उज्यालो अभियान’ दैनिकका सञ्चालक तथा इमेज टिभी र हिमालय टाइम्सका सर्लाही जिल्ला संवाददाता रहेका मैनाली विगत १० वर्षदेखि सक्रिय पत्रकारितामा संलग्न छन्।

मैनालीलाई प्रमुख अतिथि नरेन्द्र साह, संस्थाका अध्यक्ष लक्ष्मण साह तथा प्रमुख कार्यकारी अधिकृत भरत साह लगायतले सम्मानपत्र, दोसल्ला र नगदसहित सम्मान प्रदान गरेका हुन्। कार्यक्रममा बोल्दै वक्ताहरूले सहकारी क्षेत्रको पारदर्शिता र जनउत्तरदायित्व प्रवद्र्धनमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका थिए।

संस्थाका प्रशासनिक अधिकृत सञ्जीवकुमार साहका अनुसार सहकारीको कुल सम्पत्ति हाल ६६ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म २८ करोड रुपैयाँ बचत संकलन, ४९ करोड रुपैयाँ ऋण लगानी तथा १३ लाख रुपैयाँ मुनाफा आर्जन भएको उनले जानकारी दिए।

कार्यक्रममा सहकारी र सञ्चार क्षेत्रबीच सहकार्यलाई थप सुदृढ गर्दै आर्थिक सशक्तीकरण र सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्नुपर्नेमा जोड दिइएको थियो।