काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले देशमा समृद्धि ल्याउनका लागि दुई ठूला राजनीतिक दलहरुको सरकार बनेको बताउनुभएको छ ।
कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास गर्दै परराष्ट्रमन्त्री राणाले यस्तो बताउनुभएको हो ।
देउवाले लम्की चुहा नगरपालिका वडा ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको शिलान्यास गर्नुभयो । उहाँले जालपादेवी केबलकार निर्माणसँगै सुदूरपश्चिममा विकास निर्माणको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
परराष्ट्रमन्त्री राणाले पिछडिएका क्षेत्रहरुको विकासका लागि सरकारले आवश्यक कानूनहरु परिमार्जन गर्ने र नयाँ निर्माण गर्ने काम गरिरहेको बताउनुभयो । उहाँले राजनीतिले मात्रै पेट नभरिने भन्दै रोजगारी, आय आर्जन गर्ने वातावरण बन्नुपर्ने बताउनुभयो ।
परराष्ट्रमन्त्री राणाले देश विकासका लागि बाधक बनेका कानूनहरु हटाउन र नयाँ कानून निर्माण गर्न एउटा संयन्त्र बनाइ काम गरिरहेको पनि बताउनुभयो । केबलकारको निर्माणसँगै सुदूरपश्चिममा लगानी, रोजगारीको वातावरण बन्ने बताउनुभयो । जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भुमिका खेल्ने बताउनु भयो ।
परराष्ट्रमन्त्री राणाले प्रचुर सम्भावना हुँदाहुँदै पनि कानून बाधक बन्दा आवश्यकताअनुसार विकास हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्